खेलकुद

क्रिकेट प्रशिक्षणका लागि नेपालले श्रीलंकासँग राख्यो यस्तो प्रस्ताव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र श्रीलंकाको खेलकुद मन्त्रालयका डाइरेक्टर जेनरल समन बन्दराबीच सोमबार भेटवार्ता भएको छ । भेट श्रीलंकाको कोलम्बो सेभेनस्थित खेलकुद मन्त्रालयमा भएको कोलम्बोबाट राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

भेटमा सदस्य–सचिव विष्टले दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप आयोजना गरेकोमा धन्यवाद दिदै १२ औं दक्षिण एसियाली खेलकुदमा श्रीलंकाले दोश्रो स्थान हासिल गरेकोमा बधाइ दिएको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । सदस्य–सचिव विष्टले समनलाई नेपाल आउन निम्तो दिएका थिए ।

नेपाल र श्रीलंका मिलेर खेलकुदको क्षेत्रमा के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । समनसंगको भेटमा सदस्य–सचिव विष्टले नेपाली क्रिकेट प्रशिक्षकलाई श्रीलंकामा प्रशिक्षणका लागि व्यवस्था मिलाइ दिन आग्रह गरेका थिए । यस विषयमा समनले श्रीलंकाली क्रिकेट बोर्डसंग सल्लाह गर्ने बताए ।

सोमबारै सदस्य–सचिव विष्टले श्रीलंकाली ओलम्पिक कमिटीका पदाधिकारीसंग पनि भेट गरेका थिए । सो अवसरमा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुदका विषयमा छलफल भएको प्रेस सल्लाहकार दाहालले जानकारी गराएका छन् ।