पु.समाचार

शीतल निवासमा छोरी निशाकुशुमको विवाह भैरहँदा स्व.मदन भण्डारीको यस्तो सम्झना !

काठमाण्डौ । सोमबार राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको सांसद किरण यादवका छोरा अभिशेक यादवसँग शीतल निवासमा धुमधामसँग विवाह चलिरहँदा एकजना वरिष्ठ पत्रकारले दुलही निशाकुशुमका बुबा स्व.मदन भण्डारीको सम्झना गरेका छन् । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै स्व.भण्डारीको अध्ययनमोह र राष्ट्रपति भण्डारीले आफ्ना छोरीहरुलाई आमा–बुबा दुबैको जिम्मेवारी सम्हालेर दिएको अभिभावकत्वको स्मरण गरेका हुन् ।

जननेता मदन भण्डारीको २३ वर्षअघि दासढुंगामा जिप दुर्घटनामा परेर देहान्त भएको थियो । ती दिनपछि राष्ट्रपति भण्डारीले दुई छोरीहरु उषाकिरण भण्डारी र निशाकुशुम भण्डारीलाई आफ्नो न्यानो काखसहित बुबाको समेत जिम्मेवारी बहन गर्दै हुर्काएकी थिइन् । आज उनै कान्छी छोरी निशाकुशुमको धुमधामसँग विवाह भैरहेको छ । पत्रकार श्रेष्ठले उनै निशाकुशुमको विवाह समारोह चलिरहेको बेला स्वर्गीय भण्डारी एउटा लोभलाग्दो बानी र शैलीको स्मरण गरेका छन् ।

जननेता स्व.भण्डारीको अध्ययन मोहको शैली अहिलेका नेताहरुले पनि अप्नाए निकै सहयोग पुग्न सक्ने संकेत पत्रकार श्रेष्ठले गरेका छन् । नेपालको एउटा प्रसंग अमेरिकाको न्युयोर्क पोष्ट पत्रिकामा प्रकाशित भएको विषयलाई लिएर जननेता स्व. भण्डारीले पत्रकार श्रेष्ठलाई एउटा सानो चिठी लेखेका थिए । सो पत्रममार्फत स्व. भण्डारीले उक्त पत्रिका काठमाण्डौको एउटा पुस्तक पसलमा पाइने र त्यसको फोटोकपी आफुलाई उपलव्ध गराइदिन आग्रह गरेका छन् । सोही प्रसंगलाई स्मरण गर्दै पत्रकार श्रेष्ठले यस्तो स्टाटस् लेखेका छन्:

 आज राष्ट्रपति बिध्यादेवी भण्डारीकी कान्छी छोरी डा.निशाकुसुमको बिहे हुने दिन, दासढुँगा दुर्घटनापछि आमा र बुबा दुबैको ज़िम्मेवारी सम्हालेर दुई छोरीलाई हुर्काउनुभयो उहाँले ।

मेरा प्रिय नेता मदन भण्डारीले मलाई दिनुभएको यो एउटा सानो ज़िम्मेवारी पत्र फाइलमा भेटेर यहाँ पोष्ट गरेको छु । पहिलेका नेता पढ्न,जान्न,खोज्न कति इच्छुक हुन्थे र अहिलेका नेता कति सतही र बेपर्वाह छन्,तुलनात्मक अध्ययनमा पनि सघाउ पुग्ला कि भन्ने ध्येयसहित मदनलाई सम्झेर तपाइँहरुसँग साझेदारी गर्न खोजेको छु ।

यस्तो थियो जननेता भण्डारीले लखेको पत्रः