विशेष

यस्तो छ राष्ट्रपतिकी छोरीको विवाहको भव्य तयारी, यसरी पुग्दैछन् अभिषेक दुलाहा बनेर शितल निवास !

काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहका कारण यसबेला राष्ट्रपति निवास शितल निवासमा चटारो बढेको छ । पूर्वराष्ट्रपति डा.रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादव र राष्ट्रपति पुत्री निशाकुशुमबीच माघ ३ गते हुने विवाहका कारण शितल निवासमा चटारो बढेको हो । यो विवाहसँग राष्ट्रपति भण्डारी र पूर्व राष्ट्रपति यादवबीच समेत औपचारिक रुपमा पारिवारिक साइनो गाँसिने निश्चत भएको छ ।

महोत्तरीकी सांसद समेत रहेकी किरणका छोरा अभिषेक र निशाकुसुमबीच बुढानिलकण्ठस्थित विद्यालयमा पढ्दादेखि नै प्रेममा परेका थिए । केही महिनाअघि दुईबीच शीतल निवासमा परिवारको उपस्थितिमा टिकाटालो भएर उनीहरुको विवाहको तिथि निश्चित भएको थियो ।
श्रोतका अनुसार माघ ३ गते बिहान ललितपुरको भैंसेपाटीबाट जन्तिसहित यादवको परिवार शितल निवास पुने कार्यक्रम रहेको छ । जन्ति लिएर गएको टोलीलाई राष्ट्रपति भवनमा स्वागत हुनेछ । जन्ति टोलीमा पूर्वराष्ट्रपति डा.रामवरण यादव लगायतका शीर्ष व्यक्तित्वहरु समेत हुने जनाइएको छ । स्वागत भएलगत्तै हिन्दु विधि परम्पराअनुसार विवाह सम्पन्न गर्ने भव्य तयारी भएको जनाइएको छ ।

विवाह समारोहमा मुलुकका शीर्ष नेताहरु समेत उपस्थित हुने जनाइएको छ । राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुलाई विवाहमा आउन निम्तो समेत दिइसकेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार बेलुकानै शीर्ष नेताहरुलाई निमन्त्रणा गरेकी थिइन् । शीर्ष नेताहरुको बैठकका क्रममा नै उनले आफ्नी कान्छी छोरीको विवाहमा उपस्थित हुन सबै नेताहरुलाई आग्रह गरेकी थिइन् । शीर्ष नेता लगायत मुलुकका अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत त्यहाँ उपस्थिति हुनेछ । शितल निवासमै हुन लागेकोले विवाह निकै भव्य हुने समेत श्रोतले बताएको छ ।

सांसद यादवका २९ वर्षीय अभिशेष पेशाले इन्जिनियर हुन् भने निशाकुसुमले भारतबाट एमबीबीएस गरेकी छन् । २७ वर्षीय निशाकुसुमले वीर अस्पतालमा इन्टर्न सकाइसकेकी छिन् । अभिशेषले बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा बेलायतबाट ‘इकोनोमिक्स एण्ड पोलिसी अफ इनर्जी एण्ड द इनभायरोमेन्ट’मा उच्च शिक्षासमेत हासिल गरेका छन् ।

दुई वर्ष अगाडिदेखि नै विवाह गर्ने विषय उठेको थियो । यादवले सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियर भएर समेत काम गरेका थिए । एमालेका तत्कालीन नेता स्वर्गीय मदन भण्डारी र विद्या भण्डारीका दुई छोरीमध्ये उषाकिरणको भने यसअघिनै विवाह भइसकेको छ । राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति यादवबीच जोडिन लागेको यो पारिवारिक सम्बन्धलाई निकै महत्वका साथ हेरिएको छ । त्यतिमात्र होइन यो विवाहले पहाडे र मधेसी समुदायबीचको सम्बन्ध विकासका लागि मार्गप्रशस्त गर्ने काम भएको भन्नेहरुको पनि कमी छैन ।