खेलकुद

मंगलबारबाट दोस्रो रामेछाप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

सदरमुकाम मन्थलीमा आगामी शुक्रबार सम्म चल्ने प्रतियोगितामा विभिन्न क्षेत्रका १६ भन्दा बढि टोलीको सहभागीता रहने आयोजक जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुशोत्तम कडरियाले जानकारी दिए । जसमा पुर्वाञ्चल र सुदुर पश्चिमाञ्चलबाट समेत टोली सहभागी हुने उनले जानकारी दिए ।

एनका अनुसार यसपटक पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । यसपटक प्रतियोगिताको बिजेता टोलीले एकलाख ५० हजार प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुने टोलीले ७५ हजार, तेस्रो हुने टोलीले ५० हजार तथा चौथो हुने टोलीले ३० हजार प्राप्त गर्नेछ । पहिलो संस्करणको बिजेता टोलीले ५१ हजार पाँच सय, दोस्रो हुनेले ३१ हजार पाँच सय, तेस्रो हुनेले २१ हजार पाँच सय तथा चौथो हुनेले १० हजार पाँच सय प्राप्त गरेका थिए । पुरस्कार राषिको बृद्धिसँगै यो प्रतियोगिता जिल्लाकै सर्बाधिक पुरस्कार राषिको प्रतियोगिता बनेको छ ।

यसअघि सैपु गाबिसको नमुनादीप युवा क्लबले आयोजना गर्ने नमुनादीप भलिवल प्रतियोगिता सर्बाधिक पुरस्कार राषिको प्रतियोगिता थियो । जसको बिजेता टोलीले एक लाख तथा उप बिजेताले ५० हजार प्राप्त गर्थे ।

आयोजक जिल्ला खेलकुद विकास समितिले प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा तीनभन्दा बढि बिभागीय टोलीमा रहेका खेलाडीलाई खेलाउन नपाउने जनाएको छ । ‘बिभागीय टोलीका खेलाडी सहभागी भएको टोलीसामु अन्य स्थानीय टोली सधै कमजोर हुने गर्छ । त्यसैले हामीले प्लेइङ सेटमा तीन भन्दा बढि बिभागीय टोलीको अनुभव बटुलेका खेलाडीलाई खेलाउन नपाउने निर्णय गरेका छौं’, भलिवल रेफ्रि समेत रहेका प्रतियोगिता संयोजक सिताराम कार्कीले भने, ‘त्यसबाट स्थानीय खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउने बिश्वास लिएका छौं ।’

आयोजकले प्रतियोगिताको अनुमानित खर्च बजेट १५ लाख भएको जनाएको छ । जसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत अन्य निजी क्षेत्रबाट समेत सहयोग संकलन गरीएको आयोजकले जनाएको छ ।