आर्थिक

नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ – अर्थमन्त्री महरा

बागलुङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिएका छन्।

सशस्त्रद्वन्द्वमा विस्थापन भएको नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गर्दै उनले भने, ‘नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ।’
नागरिकको घर–घरमा बैंकिङ सेवा पुग्नुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महाराले ‘मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्था महत्वपूर्ण आधार हुन्’ भने। विगतको द्वन्द्वले बन्द हुन पुगेका सबै वित्तीय संस्थालाई पुनःस्थापना गरिने उनले स्पष्ट पारे।
संसद्को प्रक्रियामा छिरेको संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै उनले सङ्घीय संरचना कार्यान्वयनमा आउनसाथ मुलुकको विकासले गति लिने विश्वास व्यक्त गरे।

बैंकको आफ्नै पुरानो भवन जीर्ण भएकोले तत्कालका लागि भाडाको घरबाट सेवा सञ्चालनमा ल्याइएको छ। बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा प्रवाह गरिरहेको शाखा प्रबन्धक लक्ष्मण रखालले जानकारी दिए।
शाखाले थप सेवा विस्तार गर्दै जाने जनाइएको छ। हालका लागि शाखामा शाखा प्रबन्धकसहित तीनजना कर्मचारी छन्। विस्थापित बैंक पुनः खुलेपछि स्थानीवासी उत्साहित बनेका छन्। बैंक सञ्चालनसंगै विकास योजनाको रकम, कर्मचारीको तलब भत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अब हटेको छ।

उक्त शाखाबाट गलकोट भेगका दर्जन भन्दाबढी गाविसले प्रत्यक्ष लाभ लिनेछन्। २०३३ सालमा स्थापना भएको शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएका थिए।

उपप्रधानमन्त्री महाराले आजै जिल्लाको हरिचौरमा माघेसङ्क्रान्ति मेलाकोसमेत उद्घाटन गरे।
उनलाई गलकोट भेगका दर्जनौं गाविसका प्रतिनिधिले विभिन्न विकास निर्माणसँग सम्बन्धित मागपत्र पनि बुझाएका छन्। रासस