खेलकुद

छैटौ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता चैतमा हुँदै

काठमाण्डौ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा छैटौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता चैत २५ र २६ गते राजधानीमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए ।

पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ । त्यसबाट प्रत्येक वजन समूहमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा आ–आफ्नो तौलसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर हिमालय उपाधिका लागि भिडन्त हुनेछ ।

मिस्टर हिमालय उपाधि विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कार गत संस्करणको भन्दा ५० हजारले बढी हो । पाँचौं संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामहरि खनालले २ लाख २५ हजार नगद पुरस्कार हात पारेका थिए । त्यस्तै आ–आफ्नो तौलसमूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार जित्ने छन् ।

प्रतियोगिताका दौरान पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स विधामा पनि प्रतिस्पर्धा हुनेछ । यो स्पर्धा नेपालमै पहिलोपटक हुन लागेको महासचिव श्रेष्ठले बताए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुनेछ । एक संस्थाबाट एक वजनसमूहमा बढीमा २ खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ ।