पु.समाचार

जुलुसको नेतृत्व गर्दै पृथ्वीनारायण शाह यसरी प्रकट भए

गोरखा । पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए । दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे । उनको हातमा तरबार र ढाल थियो । कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका । र्यातलीका सहभागी उनैलाई हेर्न थाले ।

गोरखा नगरपालिका–१ पँदेलीका ओमबहादुर श्रेष्ठ पृथ्वीजयन्ती मनाउन पृथ्वीनारायण शाहकै भेषमा आएका थिए । उनी र्याहलीका आकर्षक बने । बाजागाजा अगाडि लगाएर, दायाँ हात उठाएर हिँड्दा उनी पृथ्वीनारायण शाहजस्तै देखिएका थिए । नक्कली पृथ्वीनारायण बनेका श्रेष्ठसँग तस्बिर खिचाउनेको भीड लाग्यो ।

र्यालीमा उनीसँग तस्बिर खिच्न समय माग्नेलाई उनी ठट्यौली पारामा उत्तर दिन्थे, ‘पृथ्वीनारायण शाह मेरो बाजे हुन् ।’ पृथ्वीनारायणको जस्तै पोसाक बनाउन पाँच हजार लागेको श्रेष्ठले बताए । ‘काठको तरबार बनाएको छु, नाङ्लोलाई रङरोगन गरेर ढाल बनाएको छु,’ उनले भने, ‘सीप जानेको मान्छे, बाबियो र बिजुलीको बल्बले श्रीपेचको भवर बनाएको हुँ, श्रीपेचलाई रङ लगाएपछि उस्तै देखिएको छ ।’

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ, उनी पहिलोपटक यही वर्ष भएको नवौँ गोरखा महोत्सवमा पृथ्वीनारायणको भेषमा देखिएका थिए । त्यतिवेला धेरैले मन पराएपछि पृथ्वीजयन्तीमा पनि त्यही पहिरन लगाएको उनको भनाइ छ । ‘अब सार्वजनिक कार्यक्रममा यही पहिरन लाउँछु,’ उनले भने ।

युवा पुस्ताले शाहलाई नभुलून् भनेर आफू शाहको भेषमा आएको उनले बताए । पृथ्वीनारायणको योगदानलाई ओझेलमा पार्ने गरी प्रचार हुन थालेको भन्दै उनले दुःख व्यक्त गरे । बजार परिक्रमा गरेर ¥यालीका सहभागीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

०६४ यता जनस्तरबाटै मनाइन्छ

०६४ मा तत्कालीन माओवादीले पृथ्वीनारायण शाहको सालिक तोडेपछि स्थानीयको सक्रियतामा पुनः सालिक निर्माण गरिएको छ । त्यसयता गोरखामा जनस्तरबाटै पृथ्वीजयन्ती मनाउन थालिएको हो ।