पु.समाचार

आजको मन्त्रीपरिषद बैठकबाट प्राधिकरणका कार्यकारी सुशील ज्ञवालीलाई निलम्बन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने बैठकमा ज्ञवालीले दिएको २४ घण्टे दोस्रो स्पष्टीकरणबारे छलफल र निर्णय हुने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक हरेक साता बिहीबार बस्ने गरेको छ । स्रोतका अनुसार प्राधिकरणको सीईओजस्तो महत्त्वपूर्ण पदमा लामो समय अन्योल राख्न नहुने भएकाले बुधबारै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षका साथ मन्त्रिपरिषद् उनीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ज्ञवालीको स्पष्टीकरणको जवाफ चित्तबुझो नभएको निष्कर्ष निकाल्दै पुनस् दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

ज्ञवालीले दोस्रो स्पष्टीकरणको जवाफसमेत आइतबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेका छन् । मन्त्रिपरिषद्मा ज्ञवालीको दोस्रो स्पष्टीकरणको जवाफमाथि छलफल हुने र प्राधिकरणमा उनको भविष्यबारे निर्णय हुने जानकारी स्रोतले दिएको छ ।

बुधबारको कान्तिपूर दैनिकका अनुसार प्रमुख सत्तारूढ दल कांग्रेसले प्राधिकरणको सीईओमा आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने दाबी गर्दै आएको छ । कांग्रेसले सीईओमा योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलको नाम अघि सारेको छ । पोखरेल केही समय प्राधिकरणको सीईओसमेत थिए ।