राजनीति

मिडियाले सक्न लागेको भन्दै गृहमन्त्री निधि भुषण दाहालसँग फायर भएपछि…!

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विद्येयक जसरी पनि पास भएरै छाड्ने दाबी गरेका छन् । सोमबार बेलुकी प्रसारण भएको कान्तिपुर टिभीको फायर साइड कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।  गृहमन्त्री निधिले संशोधन विद्येयक संसदमा टेबल भएपछि अब निर्वाचनतर्फ राज्यको ध्यान केन्द्रीत हुन थालेको समेत संकेत गरे ।

फायर साइड कार्यक्रमका प्रस्तोता भूषण दाहाललाई दिइएको अन्तरवार्तामा बोल्दै गृहमन्त्री निधिले सीमांकनसहित संविधान संशोधनको तयारीमा सरकार रहेको खुलासा गरे । उनले सरकारले मधेसी मोर्चालाई संविधान कार्यान्वयनको प्रक्रियामा ल्याउन खोज्नु कुनै नाजायज काम नभएको बताउँदै मधेसको पक्षमा बोल्नु कुनै राष्ट्रघात नभएको स्पष्ट पारे ।

विपक्षी दलहरुले सरकारलाई राष्ट्रघातीको आरोप लगाएकोमा गम्भीर आपत्ति जनाउँदै निधिले यो एमालेको कमजोर मानसिकता उपज भएको बताए । मधेसी जनता पनि नेपालीनै भएको उल्लेख गर्दै उनले मधेसको पक्षमा बोल्दा राष्ट्रघात हुनै नसक्ने स्पष्ट पारे । संघीयताको विषयलाई विपक्षी दलहरुले बंग्याउँदै लगेको बताउँदै उनले राजनीतिशास्त्रको परिभाषालाई नै उल्ट्याउने काम नगर्न आग्रह गरे ।

गृहमन्त्री निधिले भने, ‘संघीयताले देश टुक्रदैन, जनतालाई अधिकार दिँदा कहिल्यै देश टुक्रिदैन, जनतालाई अधिकारबाट बञ्चित गर्दा मात्र देश टुक्रिने हो ।’गृहमन्त्री निधिले सरकारमाथि लागेको भारतपरस्त आरोपको समेत खण्डन गरे । अहिले सरकारले सन्तुलित नीति लिएको समेत उनले बताए ।

अर्को एक प्रसंगमा गृहमन्त्री निधिले प्रहरी प्रशासनलाई चुस्त व्यवस्थापन गरिरहेको समेत बताए । केही दिनअघि एयरपोर्टमा भेटिएको सुनकाण्डका सवालमा समेत उनले अनुसन्धान भैरहेको बताए । ठूला सुनकाण्डहरुमा माथिल्लो तहका व्यक्तिहरुको भित्री रुपमा हात रहेको सुनिने गरेको छ नि ? भन्ने पत्रकार दाहालको प्रश्नमा गृहमन्त्री दाहालले त्यसलाई अस्वीकार गर्न नमिल्ने बताए ।

गृहमन्त्री निधिले भने, ‘यस्ता खालका ठूला काण्डमा हाई प्रोफाइलका व्यक्तिहरु समेत संलग्न भएको सुनिनमा आउने गरेको छ, यसले नेपालको राजनीतिमा अपराधीकरण र अपराधीकरणलाई राजनीतिकरण गर्ने खतरा बढिरहेको छ ।’

गृहमन्त्री निधिले एयरपोर्टमा भेटिएको सुन ठूलै गिरोहमार्फत सञ्चालन भएको संकेत फेला परेको समेत स्पष्ट पारे । सुनसहित भेटिएका व्यक्ति भने भरिया मात्र भएको उनको भनाई थियो ।
गृहमन्त्री र प्रहरी महानिरिक्षकबीचको पछिल्लो सम्बन्धबारे संकेत गर्दै पत्रकार दाहालले सोधेको प्रश्नको उत्तर दिने सवालमा भने गृहमन्त्री निधि आक्रोशित देखिएका थिए । उनले मिडियाले आफ्नो बारेमा अनावश्यक प्रचार गरेको समेत आरोप लगाएका थिए ।

आक्रोशित हुँदै गृहमन्त्री निधिले भने, ‘मिडियाका साथीहरुप्रति मलाई कहिलेकाही अचम्म लागेर आउँछ, मेरो बारेमा अनावश्यक प्रचार–प्रसार गरिरहनुभएको छ ।’ उनले प्रतिप्रश्न गर्दै भने, ‘गृहमन्त्रालयभित्र गृहमन्त्री हावी नभए को हावी हुन्छ त ?’

अर्को एक प्रसंगमा गृहमन्त्री निधिले कांग्रेस–माओवादीबीचको गठबन्धन अघिल्लो सम्झौताअनुसार अघि बढ्ने बताउँदै उनले सम्झौताअनुसार प्रधानमन्त्री दाहालले कांग्रेसलाई सरकारको नेतृत्व गर्न छाडिदिनुपर्ने बताए ।