समाचार

धुर्मुस–सुन्तलीले सुरु गरे अर्को नमुना अभियान, महजोडीद्धारा शिल्यान्यास

महोत्तरी । काभ्रे र सिन्धुपाल्चोकमा नमुना वस्ती निर्माण गरेर उदाहरणीय बनेका कलाकारद्धय धुर्मुस–सुन्तलीले तेश्रो एकीकृत नमुना बस्ती निर्माणको काम सुरु गरेका छन् ।  सोमबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मुसहर बस्तीमा सो नमुना बस्तीको शिल्यान्यास गरियो ।

दर्जनौ कलाकारहरु र सयौ स्थानीयबासिन्दाको बीचमा हास्य कलाकारद्धय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको जोडीले नमुना बस्तीको शिल्यान्या गरेका हुन् । बस्ती शिल्यान्यास गर्दै महजोडीले धुर्मुस–सुन्तलीको खुलेर प्रशंसा गरेका थिए ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ । नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिएका छन्  ।

बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि पुगेका थिए । धुर्मुस–सुन्तलीले सुरु गरेको यो अभियानले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा प्रशंसा पाउँदै गएको छ ।