पु.समाचार

अदालतका लागि ८० न्यायाधीश नियुक्तिको विषय, यसरी अघि बढ्दैछ प्रक्रिया

काठमाण्डौ । न्यायपरिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा पुर्यासएको छ । परिषद्ले एक–दुई दिनभित्रै योग्यतम उम्मेदवार छनोटको सिफारिस गर्ने भएको छ। शुक्रबार बसेको बैठकले आइतबारदेखि सोमबार सम्म नियुक्ति सिफारिस टुंगो लगाउने गरी काम अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ ।

परिषद्का प्रवक्ता देवेन्द्र ढकालले योग्यमध्ये पनि योग्यतम उम्मेदवार सिफारिस गर्नेगरी छलफल भइरहेको बताए । ‘शुक्रबार पनि छलफल भएको थियो, तर टुंगो लागिसकेको छैन,’ ढकालले भने, ‘आज पनि छलफलकै लागि बैठक डाकिएको छ।’ ठूलो विवाद नभए एक–दुई दिनभित्रै सबै नाम टुंगो लाग्ने स्रोतले जनायो ।

परिषद्ले नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो। गत मंसिर पहिलो सातासम्म आठ सय योग्य उम्मेदवारले परिषद्मा व्यक्तिगत विवरण (बायोडाटा) बुझाएका थिए ।

अधिवक्ताहरूबाट नियुक्ति गर्दा ठूलो संख्यामा प्रतिस्पर्धी देखिएकाले न्यायपरिषद् बैठकले उच्च अदालतका लागि योग्यता पुगेकामध्ये पनि योग्यतम न्यायाधीश सिफारिसका लागि छुट्टै मापदण्डसमेत बनाएको छ। आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, उच्च स्रोतका अनुसार परिषद् बैठकले अधिवक्ताहरूमध्येबाट नियुक्त गर्दा धेरैजसो वरिष्ठ अधिवक्ताहरू पर्नेगरी पुरुषतर्फ कम्तीमा १८ वर्ष वकालतमा संलग्न तथा महिलातर्फ १५ वर्ष वकालतमा लागेकाहरूलाई नियुक्ति सिफारिस गर्नेगरी मापदण्ड बनाएको छ ।

संविधान र न्यायपरिषद् ऐनले न्यायाधीश नियुक्तिमा समावेशितालाई ध्यान दिइने कुरा उल्लेख गरेकाले परिषद्मा त्यसलाई पनि एउटा मापदण्ड बनाएर छलफल चलिरहेको छ। न्यायाधीश नियुक्ति सिफारिसमा सामान्यतया समावेशितालाई ध्यान नदिने प्रचलन छ। ‘ऐनले भनिसकेपछि महिला, जनजातिदेखि सबै क्लस्टर मिलाउनुपर्ने स्थिति छ। तर, नियमावली पनि नभएको र योग्यतम नियुक्त गर्नुपर्ने भएकाले लोकसेवाको जस्तो ४५ प्रतिशत आरक्षण सिफारिसमा लागू हुँदैन,’ परिषद्का एक सदस्यले भने। सबै पक्षलाई थोरै संख्यामा भए पनि समावेशी देखिनेगरी मिलाउने तयारी भइरहेको ती सदस्यको भनाइ छ ।

संवैधानिक अंग न्यायपरिषद्मा प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष छिन्। त्यस्तै, सदस्यहरूमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ सिंह, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन्। सिफारिसका लागि संवैधानिक व्यवस्था र न्यायपरिषद् ऐनको मापदण्डबारे कसैको पनि विवाद छैन। तर, सबैले आ–आफ्नो तर्क बलशाली ढंगले राख्दै आएको बताइन्छ।

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा योग्य महिलाहरूलाई आफूले प्राथमिकता दिने सार्वजनिक रूपमै बताउँदै आएकी छिन्। सार्कलगायतका अन्य मुलुकको तुलनामा नेपालमा अदालतहरूमा महिला न्यायाधीशहरूको संख्या कम रहेको बताउँदै उनले आफूले त्यसका लागि प्राथमिकता दिने बताएकी छिन्। उनले ८० जना न्यायाधीश नियुक्ति सिफारिस हुँदा कम्तीमा एक दर्जन महिला अनिवार्य हुनैपर्ने तर्क परिषद् बैठकमा राखेकी थिइन्। सोही कारण पुरुषको तुलनामा तीन वर्ष कम अनुभव प्राप्त महिला वकिललाई पनि सिफारिस गर्नुपर्ने मापदण्ड बनाइएको छ। बारबाट प्रतिनिधित्व गर्ने सिटौलाले बारले माग गरेको ५० प्रतिशतलाई ध्यान दिनुपर्ने तर्क राख्दै आएका छन्। वैदिक र मन्त्री नायक भने सकभर पार्टी विचारधारासँग नजिक रहेकाहरू नछुटुन् भन्नेमा रहेको स्रोतको भनाइ छ।
कहाँबाट कति सिफारिस प्रस्तावित ?
-जिल्ला  न्यायाधीशबाट– ३७ जना
-नेपाल बार एसोसिएसनबाट– २७
-सहसचिव र विशिष्ट श्रेणी– १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह)

संविधानको धारा १४० मा ‘जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीश या न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिने’ उल्लेख छ ।