आर्थिक

नेपाली सफ्टवेयर कम्पनीहरुले विदेशी बजार पाउन थाले

काठमाडौं – पछिल्लो आधा दशकयता नेपाली सफ्टवेयर कम्पनीहरूले विदेशी बजार पाउन थालेका छन् । नेपाली कम्पनीले विदेशस्थित निजी तथा सरकारी कार्यालयका परियोजनाका काम तथा तोकिए बमोजिमको सफ्टवेयर निर्माण गर्दै आएका छन् । सूचना प्रविधिको दायरा बढ्दै गर्दा विदेशी कम्पनीको काम नेपालमै बसेर गर्न सम्भव भएको छ ।

नेपालमा आन्तारिक तथा बाह्य गरी सफ्टवेयर बनाउने २ सयभन्दा धेरै कम्पनी भएको अनुमान छ । करिव ५० सफ्टवेयर कम्पनीले पूर्ण रुपमा विदेशी कम्पनीलाई सफ्टवेयर निर्माण गरिरहेका छन् । यी कम्पनीले वार्षिक करोडौंको कारोबार गर्दै आएका छन् ।

नेपालमा हाल वार्षिक कति रकम बराबरको सफ्टवेयर निर्माण र कारोबार हुन्छ भन्ने न सरकारसँग तथ्यांक छ, न त सम्बन्धित व्यवसायी महासंघसँग नै छ । प्रक्रियागत रुपमा दर्ता भई १५ जनाभन्दा धेरैलाई रोजगारी दिने यस्ता कम्पनीले विश्वव्यापी बोलपत्र वा व्यक्तिगत सम्पर्कबाट काम लिएका हुन्छन् ।

आइतबारको कारोबारमा लेखिएको छ, नेपाली सफ्टवेयर कम्पनीको भविष्य उज्ज्वल भनेको भन्दै क्यान महासंघका अध्यक्ष विनोद ढकालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सफ्टवेयर क्षेत्रको योगदान बढाउनुपर्ने बताए । यसका लागि सरकारले आईटी क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने उनको भनाइ छ ।

नेपाली सफ्टवेयरको माग अमेरिका, बेलायत, जापान, नेदरल्याण्ड, जर्मनी लगायतका देशमा हुँदै आएको छ । विदेशी कम्पनीले लोगो निर्माणको लागि समेत नेपालीको प्रयोग गरे पनि नेपाल सरकारले स्थानीय कम्पनीलाई प्राथमिकतामा राख्न नसकेको सरोकारवाला कम्पनीहरू बताउँछन् ।