समाचार

सुशील ज्ञवालीको ठाउँमा नयाँ सीइओ ल्याउने प्रचण्ड र देउवाको यस्तो छ गोप्य तयारी

काठमाण्डौ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एक्कासि पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेपछि यसबेला नयाँ सीइओ नियुक्तिका बारेमा बहस सुरु भएको छ । सरकारले बिहीबारनै प्राधिकरणको सिइओ नियुक्ति गर्ने भनेपनि सत्तागठबन्धनमा रहेका माओावादी र कांग्रेसबीच कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुरा नमिल्दा सो विषय अहिले बहसमै सिमित हुने सम्भावना समेत देखिएको बताइएको छ ।

सत्तासिन दलभित्र भने नयाँ सीईयोको खोजी सुरु भएको छ । सत्ता साझेदार नपाली कांग्रेस र माओवादी केन्द्रबीचको समझदारीमा ज्ञवालीलाई हटाएपनि नयाँ नाममा भने सजिलै सहमति हुने देखिएको छैन ।

नेपाली कांग्रेसभित्रै दुईवटा नाममा विषयमा चर्चा सुरु भएको छ । यसअघि प्राधिकरणको सीईयो रहेका डा। गोविन्द पोखरेलको नामका विषयमा चर्चा सुरु भएपनि कांग्रेसभित्र गोपाल खड्काको नाम पनि शसक्त सुनिएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक रहेको खड्काले आफु सीईयो बन्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष लविङ सुरु गरिसकेका छन् ।

खड्कालाई सीईयो बनाउने विषयमा सभापति देउवा सकारात्मक रहेको बताइएको छ । कांग्रेसभित्र विभिन्न नामका विषयमा चर्चा सुरु भएको छ पोखरेलको नाम पनि आएको छ,  खड्का र पोख्रेल कसलाई कार्यकारी प्रमुख बनाउने भन्ने विषयमा कांग्रेसभित्र गम्भीर बहस भैरहेको श्रोतले बताएको छ ।  कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले भने पोखरेललाई सीईयो बनाउनुपर्ने पक्षमा लबिङ गरिरहेका छन् ।

खड्का र पोख्रेल दुवैको विषयमा कांग्रेसभित्र बहस सुरु भएपनि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र त्यसको नेतृत्व गरिहेका प्रचण्डको समेत यसमा महत्वपूर्ण भूमिका रहन्छ । श्रोतका अनुसार सभापति देउवाले भने खड्कालाई बढी महत्व दिएको बताइएको छ । यद्यपि, दुवै नेताले यी दुई व्यक्तिलाई नै प्राधिकरणको सीइओमा नियुक्त गर्ने प्रस्ताव अघि सारेकोले को हुन्छ भन्ने विषयमा भने अहिलेनै यकिन गर्न नसकिने श्रोतको दाबी छ ।

श्रोतका अनुसार कांग्रेस सभापति देउवाले कडा अडान लिए भने उनले रोजेको व्यक्ति समेत पुनर्निमार्ण प्राधिकरणको प्रमुख हुने सम्भावना समेत नजिकै रहेको बताइएको छ ।