समाचार

कठमाण्डौ उपत्यकावासीका लागि खुसीको खबर, अब यस्तो हुने भो बागमती किनारको दृष्य

काठमाण्डौ । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ। अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ। समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। बाँकी ६।५ किलोमिटर सडक निर्माण आगामी सात महिनाभित्र सकिनेछ।

आव ०६७/६८ बाट बागमती करिडोर निर्माण सुरु भएको हो । अहिलेसम्म गोकर्णदेखि गौरीघाट दोभानसम्मको करिडोर निर्माण सम्पन्न भइसकेको छ। यस खण्डमा नदीको एकातर्फ मात्रै दुई लेनको सडक निर्माण गरिएको छ। तिलगंगा दोभानदेखि मीनभवनसम्म पनि सडक निर्माण सम्पन्न भएको छ। यस खण्डमा भने नदीको दुवै किनारमा दुई–दुई लेनको हुने गरी सडक निर्माण गरिएको छ।

हुँदै थापाथली दोभानसम्मको सडकखण्ड भने निर्माणाधीन छ। यस खण्डमध्ये कतिपय स्थानमा नदीको दुवै किनारबाट सडक खोलिएका छन् भने कतै नदीको एकातर्फबाट मात्रै सडक बनाइएको छ। थापाथलीदेखि बल्खुसम्मको सडकखण्ड निर्माणाधीन चरणमा छ। यस खण्डमा एकातर्फबाट मात्रै सडक निर्माण गरिएको छ।
समितिले जग्गा प्राप्ति र सुकुम्बासीका कारण सडक निर्माणमा समस्या आएको जनाएको छ। ‘कुनै ठाउँमा नदीको दुवै किनारबाट करिडोर निर्माण गरिएका छन्। कतिपय स्थानमा भने नदीको एकातर्फबाट मात्रै निर्माण भएका छन्। जग्गा प्राप्ति र सुकुम्बासी समस्याका कारण नदीको दुवै किनारबाट सडक निर्माण हुन नसकेको हो,’ समितिका परियोजना उपप्रमुख चित्रकारले भने।

बागमती करिडोर निर्माणका लागि १५ अर्बभन्दा धेरै खर्च भइसकेको समितिले जनाएको छ। बागमती नदीमा बाँध बाँध्ने, ढल निर्माण, बागमती नदी सफाइको काम सोही बजेटबाट भएको समितिको भनाइ छ। ‘बागमती करिडोर खोल्नुको उद्देश्य उपत्यकाको ट्राफिक समस्या न्यूनीकरण गर्नु हो। करिडोर सञ्चालनमा आएपछि धेरैले यही सडकमार्ग प्रयोग गर्नेछन्। यसो हुँदा ट्राफिक समस्या न्यूनीकरणमा सहयोग पुग्नेछ,’ उपप्रमुख चित्रकारले भने, ‘करिडोर खोल्न अहिलेसम्म १५ अर्बभन्दा धेरै खर्च भइसकेको छ।’ करिडोर सञ्चालनपछि उपत्यकाको ट्राफिक समस्यामा महत्वपूर्ण सुधार आउने समितिको विश्वास छ।

समितिका परियोजना उपप्रमुख योगेन्द्र चित्रकारले चालू आर्थिक वर्षभित्रै बागमती करिडोर निर्माण पूरा हुने जानकारी दिए। ‘करिडोर निर्माणको ६३ प्रतिशत काम सम्पन्न भएको छ। अब करिब ३७ प्रतिशत काम बाँकी छ। चालू आर्थिक वर्षभित्र सक्ने ठेक्का सम्झौता छ,’ उनले भने, ‘अबको सात महिनाभित्र सडक निर्माणको सबै काम सकिनेछ।’