खेलकुद

इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १२ स्वर्ण

सुर्यखबर संबाददाता,
काठमाडौँ । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तेक्वान्दो टोलीले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक हात पारेका छन् ।

भारतको कोलकातास्थीत सारलेकमा भएको पाँच दिने च्याम्पियनसिपमा नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण हात पारेका हो । डिसेम्बर २८ देखि जनवरी १ सम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए । पुरुषको फाइटतर्फ ८०केजीमा धन बहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी र ५४ केजीमा सिसिर श्रेष्ठले स्वर्ण जिते ।

त्यस्तै रोहीत गीरीले २९ केजी तौलको फाइट र पुम्से दुवैमा स्वर्ण हात पारे । पुम्सेमा प्रतिक पाठक र रेजिन रिमालले स्वर्ण हात पारे । महिलातर्फ निता गुरुङ ५६केजी तौलसमुह र पुम्सेमा पनि स्वर्ण जित्न सफल भइन् । फाइटकै महिलाको ५३ केजीमा पार्वती गुरुङ, ४९केजीमा सुस्मीता थापा र ५४ केजीमा दिक्षा कार्कीले नेपाललाई स्वर्ण दिलाइन ।

च्याम्पियनसिपमा पुरुषतर्फ सिसीर श्रेष्ठले पुम्सेमा तथा मोहम्मद कलिमउल्लाहले पुम्से र फाइटमा रजत जित्न सफल भए । महिलामा रुवीना घलले पुम्सेमा,अस्मीता मगरले पुम्से र फाइटमा तथा निक्की पुनले पनि पुम्से र फाइट दुवैमा रजत हात पारिन् ।

च्याम्पियनसिपको पुम्सेमा रन्जित चौधरी,दिपेन्द्र नेपाली,मोहम्मद उमर खान,उपेस कुमार यादव र सविन मजाकोटीले कास्य पदक हात पारे । फाइटमा अस्विन थापा कास्य जित्दा चन्द्र बहादुर मगरले फाइट र पुम्से दुवैमा कास्य जित्न सफल भए ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितीको ब्यवस्थापनमा कुल ४३ खेलाडीले च्याम्पियनसिपमा सहभागीता जनाएका थिए । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रोसन खान,प्रशिक्षकमा भुवन ढकाल र प्रदिप दंगाल रहेका छन् । च्याम्पियनसिपमा नेपाल,कोरिया,मलेसिया,जापान ,इन्डोनेसिया र बंगलादेश लगायत कुल ९ राष्ट्रको सहभागीता रहेको थियो ।