राजनीति

बानेश्वरमा आगजनी भएको यो जिपबारे अनौठो खुलासा, राष्ट्रपति कार्यालयसँग जोडियो घटना !

काठमाण्डौ । शुक्रबार अपरान्ह नयाँ बानेश्वरमा एक्कासि एउटा सरकारी जिपमा आगजनी भयो । जिप जलिरहेको थियो, तर जिपमा आगो लगाउने समुहको भने कसैले निक्र्योल गर्न सकेका थिएनन् । सबै सर्वसाधारण जलिरहेको जिप हेरेर मात्र बसिरहेका थिए । केही क्षणपछि थाहा भयो, एमालेको युवा संगठन, युवा संघ नेपालले जिपमा आगो लगाएको रहेछ । तर आगो लगाउनेहरु भने त्यहाँ थिएनन्, फरार भैसकेका थिए ।

प्रहरीले तत्काल अनुसन्धालाई अघि बढायो । वागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बा १ झ १३९२ नम्बरको सो जिपमा आगलागी गर्नेहरु भने प्रहरी पहिचान गर्न सफल भयो । गाडी जलिरहेको ठाउँभन्दा केही अगाडि राखिएको सीसी टिभी फुटेजले आक्रमणकारीहरुको पहिचान गर्यो । आश्चर्यको कुरा त के छ भने घटना राष्ट्रपति कार्यालयसँग जोडिएको देखिएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा काम गर्ने स्टाफ समेत सो आक्रमणमा सहभागी भएको पाइएको छ । प्रहरीकाअनुसार राष्ट्रपति कार्यालयमा काम गर्ने सुमित्रा थापासमेत सो आगजनीमा सहभागी भएको सीसी टिभी फुटेजमा देखिएको जनाइएको छ ।

थापासहित युवा संघका नेताहरु रोशन बस्नेत, निरेशलाल सिंह, प्रकाश गौतम लगायतका नेता कार्यकर्ताले सो जिपमा आगजनी गरेको प्रहरीको ठम्याई छ । उनीहरु अहिले फरार छन् ।

बानेश्वरस्थित अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरेर राखिएको सो जिप लजेर क्षतिग्रस्त भएको छ । बागमती सभ्यता एकीकृत विकास समितिले भने आफ्नो सम्पति क्षति भएको भन्दै सम्बन्धित निकायमा अहिलेसम्म उजुरी दिएको पाइएको छैन । प्रहरीले आफ्नै ढंगले अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेको जनाइएको छ ।