पु.समाचार

मधेसी मोर्चा फकाउन कांग्रेसले ल्यायो यस्तो रणनीति

काठमाडौं । सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् ।
संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने निष्कर्षमा पुगेको छ ।

‘सहज होस् भनेर लामो समय एमालेलाई कुरेका हौँ । एमाले निर्वाचन चाहन्छ भने अब उसले सहयोग गर्नुपर्छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘सहज रूपमा टेबल गर्न दिए राम्रो हो । होइन फेरि अवरोध गरिरहे पनि संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक आगामी सोमबारको संसद्मा टेबल हुन्छ ।

चैतमा स्थानीय चुनाव गराउनुपर्नेछ । अब एमाले मानेन भनेर हामी पर्खनेवाला छैनौँ ।’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधनसम्बन्धी प्रस्ताव अगाडि बढाउन कांग्रेसले सकारात्मक पहल गर्ने भनेपछि आफूहरू आशावादी भएको बताए ।

‘कांग्रेसले आफ्नै सहमतिमा अघि बढाएको प्रस्ताव अघि नबढी मुलुक अगाडि बढ्दैन भनेको छ । त्यसैले अब जुन दिन हाउस अघि बढ्छ हामी टेबल गर्छौँ भन्ने विश्वास दिलाउनुभएको छ,’ बैठकपछि यादवले भने, ‘हामीले अघि बढाएको प्रस्तावलाई पास गर्ने नैतिक राजनीतिक जिम्मेवारी हाम्रो हो । जसरी पनि पास गराउँछौँ, शंका नगर्नुस् भन्नुभएको छ ।’

शनिबारको नयाँ पत्रिकाले लेखेको छ, कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न मधेसी दलहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । उनको आग्रहपछि मोर्चाका नेताहरूले संसद्मा टेबल भएर संशोधन पास हुने अवस्थामा आफूहरू निर्वाचनको विरोधी नभएको बताएका थिए ।

संशोधन प्रस्ताव परिमार्जनको आशामा मोर्चा
संविधान संशोधन प्रस्ताव पारित गएपछि निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने मधेसी मोर्चाले जनाएको छ । संसद्मा टेबल भएपछि परिमार्जन गरेर जान सकिनेमा मधेसी मोर्चा छ ।

पुरानै स्थानीय निकायको पक्षमा मोर्चा
मधेसी मोर्चाले नयाँ स्थानीय तहको चुनाव गर्दा संख्या घट्ने भन्दै पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जवाफमा देउवाले आफू पुरानो वा नयाँ जुनको निर्वाचन भए पनि आफूले निर्वाचन चाहेको बताएका थिए ।

देउवाले मोर्चाका नेतालाई भने–विश्वास गर्नुस्, आशंका नगर्नुस्
मधेसी मोर्चाका नेताहरूसँग डेढ घन्टा चलेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूलाई विश्वास गर्न बारम्बार आग्रह गरेका थिए । ‘तराई मधेसको समस्या तपाईंहरूको मात्र होइन, हाम्रो पनि हो । तपाईंहरूलाई लाग्ला संशोधन प्रस्ताव दर्ता मात्र गराए अगाडि बढाएनन् भन्ने । तर, अब टेबल गर्छौँ । निर्वाचन विधेयक टेबल पनि गर्छौँ । निर्वाचनको मिति पनि तय गर्छौँ, अब तपाईंहरूले निर्वाचन घोषणामा सहयोग गर्नुपर्छ,’ बैठकमा देउवाले भनेका थिए, ‘विश्वास गर्नुस् आशंका नगर्नुस् । हामीले त्यत्तिकै संशोधन दर्ता गराएका होइनौँ ।