समाचार

रहेनन् वरिष्ठ साहित्यकार कमलमणि दीक्षित

काठमाण्डौ । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको बिहीबार बिहान निधन भएको छ । नेपाली भाषा साहित्यका अग्रणी श्रष्टा दीक्षितको बिहान २ बजेर ४५ मिनेट जाँदा ललितपुरमा निधन भएको हो ।

पछिल्लो समयमा श्वास प्रश्वास प्रक्रियामा खराबी देखिएपछि नियमित चिकित्सकहरुको सल्लाह लिइरहेका दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ ।
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान दिएका छन् ।

पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी (सन् १९२९ अगस्त २) का दिन काठमाडौंको गैरीधारामा उनको जन्म भएको थियो ।

दीक्षितकै सक्रियतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो । गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति प्रदान गरिने मदन पुरस्कार (२०१२ सालदेखि) र नेपाली भाषाको श्री(वृद्धिका लागि योगदान वापत प्रदान गरिने जगदम्बा(श्री पुरस्कार (२०४५ सालदेखि) प्रदान गरिदै आएको छ।

दीक्षित मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक(जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल(भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा आबद्ध रहँदै आएका व्यक्तित्व थिए, जसको माध्यामबाट उनले नेपाली साहित्यको क्षेत्रको ठूलो योगदान दिन सफल भए ।

दीक्षितले ६ दर्जनभन्दा धेरै पुस्तक लेखेका छन् भने उत्तिक्कै संख्यामा सम्पादन समेत गरेका छन् । दुई छोरा र एक छोरीका पिता समेत रहेका दीक्षितको बिहीबारै पशुपति आर्यघाटमा दाह संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।