पु.समाचार

भूकम्पपछिको पुनः निर्माणमा जनदबाब

नुवाकोट। भूकम्पपछिको पुनः निर्माणको अभियानलाई तीव्र पार्नका लागि दबाब दिन भूकम्पपीडित र अधिकारकर्मीले जनपरिचालन गरेका छन् ।

मङ्गलबार बट्टारबाट सुरु भएको जनपरिचालन विदुरमा आएर कोणसभामा परिणत भएको छ । ‘पिपुल क्याराभान’ नाम दिइएको अभियानमा जिल्लाका २० भन्दा बढी संस्थाको संलग्नता रहेको थियो । मानवअधिकार एलाइन्सको अगुवाइमा भएको जनदबाब अभियानका वक्ताले राजनीतिक दल सत्ता परिवर्तनको कार्यसूचीमा लाग्दा नागरिकको आवास अभियान तथा पुनःनिर्माणले गति लिन नसकेको गुनासो गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने जिम्मा राज्यको भएकाले यो वा त्यो बहानामा राज्य पन्छिन नमिल्ने बताउनुभयो । ‘दिगो पुनःनिर्माण हाम्रो अभियान’, ‘पुनः निर्माणमा महिलालाई सहभागी गराऔँँ’, ‘आधा पुरुष, आधा नारी जमिनमा हक बराबरी’, ‘पीडितको माग र अवस्थाः सुरक्षित आवासको व्यवस्था’लगायत नारा लेखेको प्लाकर्ड बोकेर अधिकारकर्मी र भूकम्पपीडित सहभागी भएका थिए ।

मङ्गलबार नै पुनःनिर्माणमा देखिएका समस्या र राज्यले निर्वाह गर्नुपर्ने भूमिका समेटिएका छसूत्रीय माग राखी प्रजिअलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । पत्रमा नुवाकोटमा आठ हजारभन्दा बढी परिवारले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनलाई आफ्नो नाममा ल्याउन नसक्दा भूमिहीनका रुपमा बस्न बाध्य भएको जनाइएको छ । नुवाकोटमा छ हजार सात सय २३ परिवार गुठीको जग्गामा तथा एक हजार पाँच सय ४९ परिवार बिर्ताको जग्गामा बस्दै आएका छन् ।
सहायक प्रजिअ कमलराज ढकाललाई बुझाइएको ज्ञापनपत्रमा रु पाँच पाँच लाख अनुदान रसहुलियत ब्याजमा ऋण उपलब्ध गराउन माग गरिएको छ ।