पु.समाचार

कांग्रेसले अघि सार्यो नयाँ सुत्र, यसरी फसे अब प्रचण्ड !

-समाचार विश्लेषण

काठमाण्डौ । सत्ता गठबन्धनमा रहेको मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेको विद्यमान राजनीतिक गतिरोध हटाउन नयाँ सुत्र अघि सारेको छ । सरकार र प्रमुख प्रतिपक्षीबीच कडा आरोप–प्रत्यारोप चलिरहेको बेला कांग्रेसले अघि सारेको यो सुत्रलाई निकै अर्थपूर्ण रुपमा समेत हेरिएको छ । नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्तावलाई कार्यान्वयमा लैजानुअघि स्थानीय निकायको निर्वाचनको मिति तोकेर जानुपर्ने विषयलाई अघि सारेको छ । कांग्रेसले अघि सारेको यो प्रस्तावलाई विपक्षीहरुले उसको आन्तारिक रणनीतिको रुपमा लिएको भएतापनि यसले पछिल्लो राजनीतिक गतिरोधलाई अन्त गरिदिन सक्ने धेरैको आंकलन छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नै स्थानीय निकायको निर्वाचनको मिति तोकेर गए यसले संसदमा देखिएको गतिरोधलाई अन्त गरिदिनसक्ने दावी गर्दै आएका छन् र पार्टीको आन्तारिक बैठकमा समेत उनले यो विषयमा जोड दिइरहेका छन् ।

कांग्रेसले अघि सारेको यो नयाँ सुत्रले एमालेलाई समेत वाध्य भएर सहमतिमा ल्याउन सक्ने एकथरी विश्लेषकहरुको भनाई छ । भर्खरै मात्र स्थानीय निकाय पुनसंरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ । आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउनु अघिनै निर्वाचनको मिति तोक्न सकिए एमालेलाई पनि सहमतिमा ल्याउन सकिने कांग्रेसको बुझाई छ । एमालेलाई सहमतिमा नल्याई संसदको गतिरोध हट्न नसक्ने र संसदको गतिरोध नहटे निकै लामो समयसम्म त्यसको प्रभाव देखिने भएकोले त्यसले सत्ता गठबन्धनमा समेत प्रभाव पार्न सकिने देखिन्छ । त्यसैले नेपाली कांग्रेसले यसबेला नयाँ सुत्र अघि सारेको धेरैको ठम्याई छ ।

कांग्रेसको प्रस्तावमा आउला एमाले ?
नेपाली कांग्रेसले अघि सारेको यो प्रस्तावमा एमाले आउने संकेत देखिन्छ, किनभने संसदमा अवरोध पुर्याइरहेको सो पार्टीले स्थानीय निकायको निर्वाचनको मिति तोक्न समेत सरकारलाई दबाब दिइरहेको छ । उसले अहिलेको प्रमुख काम भनेको ३ वटा निर्वाचन सम्पन्न गर्नुपर्ने र देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्नु रहेको बताउँदै आएको छ । सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई औचित्यहिन ठहर गर्र्दै आएको एमालेको यो प्रस्तावमा भने मधेसी मोर्चाले विरोध जनाइरहेको छ । मोर्चाले सरकारले अघि सारेको अहिलेको संशोधन प्रस्तावको समेत विरोध गर्दै आएको छ ।

एमालेले संशोधन प्रस्तावकै विरोध गर्नु र मोर्चाले अहिलेको संशोधन प्रस्तावले आफ्नो मुद्धालाई नसमेटेको बरु अझै जनपक्षीय प्रस्ताव ल्याउन आग्रह गर्नुले समस्या थप जटिल बन्दै गएको देखिन्छ । त्यसैले यो खालको राजनीतिक चक्रब्युहमा मुलुक फस्न लागेको अवस्थामा कांग्रेसले नयाँ सुत्र फालेको देखिन्छ, जसले निर्वाचनमार्फत मुलुकमा विद्यमान राजनीतिक गतिरोधको अन्त गरिदेओस् भन्ने चाहाना बोकेको देखिन्छ ।

कांग्रेसको आन्तारिक रणनीति
नेपाली कांग्रेस यसबेला एमाले र माओवादीबीचको टक्करमा पर्न चाहाँदैन, किनभने सरकार सञ्चालनको प्रक्रिया र आगामी निर्वाचनलाई उसले विशेष रुपमा ध्यान दिएको देखिन्छ । कांग्रेस यो पटकको जनमतलाई पनि आफ्नो पक्षमा पार्न चाहान्छ, जसरी २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा आफ्नो पक्षमा बहुमत आएको थियो ।

नजिकिदै गएका ठूला ३ वटा निर्वाचन र प्रचण्डपछि सरकारको नेतृत्वमा जाने महत्वाकांक्षाले कांग्रेसले निकै सहजताका साथ कदम अघि बढाइरहेको देखिन्छ । राजनीतिक सहमति अनुसार प्रचण्डले चैत्रमा सरकारको नेतृत्व छाडिदिनुपर्छ, त्यसपछि पालो कांग्रेसको छ । सरकारको नेतृत्व गर्ने र आगामी निर्वाचनको माहौल आफ्नो पक्षमा पार्ने आन्तारिक रणनीतिका साथ कांग्रेसले आफ्नो नयाँ सुत्र अघि सारेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यसरी फस्न सक्छ माओवादी
देशमा लोकप्रियताको शिखर चढेको केपी ओली नेतृत्वको सरकारलाई ढालेर आफु नेतृत्वमा जाँदा देखिनै माओवादीका ओराला दिन सुरु भैसकेका थिए । उसले त्यसबेला संसदमा फालेमा राजनीतिक पासाहरुलाई हेर्दा नै यो कुराको पुष्टि हुन्छ । जनमतअनुसार प्रचण्ड भूतले खाजा खाने बेलामा सरकारमा गएका छन्, उनलाई भूतले उल्टै खाजा बनाइदिनसक्ने आंकलन गरिदैछ ।

मधेसी मोर्चालाई सहमतिमा ल्याउने नाममा प्रचण्डले सरकारको नेतृत्वमा पुग्ने वित्तिक्कै एमालेको सहमतिबिनै संशोधन प्रस्ताव संसदमा दर्ता गराउन पुगे । मध्यरातमा दर्ता गराएको सो प्रस्तावसँगै पाँच नम्बर प्रदेश टुक्राउने विषयसमेत त्यसमा जोडिएर आयो । यी विषयले अहिले प्रचण्ड नेतृत्वको सरकारको साख मात्र गिराएन, प्रचण्ड नेतृत्वको पार्टी माओवादी केन्द्रलाई समेत आगामी दिनमा ठूलै धक्का लाग्ने सम्भावना देखिदैछ । त्यतिमात्र होइन, सरकारबाट जनमतले अपेक्षा गरेअनुसारको काम गर्न नसक्नु, भारतको इशारामा काम गरेको आरोप लाग्नु, पाँच नम्बर प्रदेशको विषयमा आफ्नै पार्टीभित्र चर्को विरोध हुनु लगायतका कुराले प्रचण्ड नेतृत्वको सरकार र उनको पार्टीलाई घाटा हुने जानकारहरु बताउँछन् ।

पछिल्ला दिन कांग्रेसले अघि सारेको नयाँ सुत्रले समेत अब तत्काल देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने आधारशिला खडा गर्ने भएकोले प्रचण्ड नेतृत्वको सरकारको आयू समेत घट्दै गएको धेरैको विश्लेषण छ । यदि नेपाली कांग्रेसले अघि सारेको नयाँ सुत्रमा कुरा मिल्दै गएमा कांग्रेस र एमालेबीच घनिष्ठता बढ्दै जाने निश्चित छ । कांग्रेस र एमालेबीच घनिष्ठता बढ्नु भनेको आगामी सरकार र निर्वाचनको माहौल फेरि पनि यी दुई पार्टीको पक्षमा निर्माण हुँदै जाने संकेत भएको विश्लेषकहरु बताउँछन् । यसले प्रचण्ड, उनको नेतृत्वको सरकार र उनको पार्टीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति पुग्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।