पु.समाचार

भारतीय नाकाबन्दीमा मोर्चाका नेताले राम्रो आम्दानी गरे: ओली

काठमाण्डौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन् । मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्। मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविकत मुद्दा नबोकेको आरोप पनि लगाए । मधेसी मोर्चाले मधेसमा ११ सिटमा विजय हासिल गर्दा एमालेले ४० सिटमा विजय पाएको उनले बताए ।

मधेसमा एमाले हनुमानझैं शक्तिशाली भएको उनको भनाइ थियो। ‘हनुमानजीले आफ्नो शक्ति आफैं चिन्न नसके जस्तै हाम्रा साथीहरुले मधेसमा एमालेको शक्ति चिन्न नसकेको मात्रै हो,’ उनले भने, ‘ आफू पनि ५५ वर्षदेखि मधेसमै बसेको भन्दै ओलीले मधेसका बारेमा मोर्चाका नेताहरुलाई भन्दा आफूलाई बढी जानकारी भएको दाबी गरे ।

मंगलबारको नागरिकमा लेखिएको छ, ओलीले मधेस आन्दोलनका क्रममा मोर्चाका नेताहरुले राम्रो आम्दानी गरेको आरोप लगाए। ‘भारतले नाकाबन्दी गर्दा नेपालका केही नेताले नाकाबन्दी हामीले गरेको हौं भने । नाकाबन्दीको स्वामित्व ग्रहण गर्न खोजे,’ ओलीले भने, ‘उनीहरुको बुतामा नाकाबन्दी थियो कि थिएन तर उनीहरुले त्यसरी हल्ला गरे।’