राजनीति

कांग्रेसले दियो नयाँ संकेत, प्रचण्डलाई झड्का !

काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसले नयाँ बाटो तय गर्ने संकेत गरेको छ । कांग्रेसले संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिने सम्भावना बढेपछि त्यस्तो संकेत मिलेको हो । पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकोले निर्वाचनमै जानुपर्नेमा जोड दिएपछि कांग्रेसले अब नयाँ बाटो तय गर्ने निश्चित भएको जनाइएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरू हुने बताएका थिए ।

‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ,’ देउवाले भने,‘ संविधान संशोधन प्रस्ताव थाति राखेर भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ।’ कांग्रेसको यो कदमपछि प्रचण्ड नेतृत्वको सरकारलाई समेत झड्का लाग्ने संकेत देखिएको छ । सरकारले चुनावको मिति तोक्नुअघि संविधान संशोधन प्रस्ताव दर्ता गरेर त्यसको छिनोफानो हुनुपर्ने बताउँदै आएको छ ।