पु.समाचार

मेलम्चीको खानेपानी वितरणका लागि पाइप विच्छ्याउने काम सकिनै लाग्यो

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणका लागि पाइप बिछ्याउने सबै काम आगामी साउन पहिलो साताभित्र सकिने भएको छ । अहिले प्रतिमहिना ३० किमिका दरले पाइप बिछ्याउने काम भइरहेको छ । उपत्यकामा खानेपानी वितरणका लागि कुल ६ सय ७३ किमि पाइप बिछ्याइँदै छ । त्यसमध्ये चार सय ५० किमि पाइप बिछ्याइसकिएको छ । मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका अनुसार अब काठमाडौं उपत्यकामा दुई सय २३ किमि मात्रै पाइप बिछ्याउन बाँकी छ ।

निर्देशनालयका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले पनि आठ महिनाभित्र पाइप बिछ्याउने काम सकिने बताए । उनले भने, ‘अहिले प्रतिमहिना ३० किमिका दरले पाइप बिछ्याउने काम हुँदै छ । यही रफ्तारमा काम अघि बढे बाँकी दुई सय २३ किमि पाइप बिछ्याउन काम करिब आठ महिनामा सकिन्छ ।’

निर्देशनालयले उपत्यकाभित्र थोक वितरण (बिडिएस) र वितरण सञ्जाल सुधार (डिएनआई) गरी दुई प्रणालीबाट पाइप बिछ्याइरहेको छ । थोक विरतरण प्रणालीअन्तर्गत ३२.५६ किमि पाइप बिछ्याइसकिएको छ । यसअन्तर्गत सुन्दरीजलदेखि चुच्चेपाटी पानी ट्यांकी (९.६ किमि) सम्म पाइप बिछ्याउने काम सकिएको छ ।

ट्यांकी निर्माणको ७२ प्रतिशत काम सकियो
मेलम्चीको पानी जम्मा गर्न निर्माणाधीन ट्यांकको ७२ प्रतिशत काम सकिएको छ । मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने, ‘उपत्यकाको ६ स्थानमा ट्यांक निर्माणको ७२ प्रतिशत काम सकिएको छ । बाँकी तीन ठाउँमा भने काम अघि बढ्न सकेको छैन । सोमबारको नयाँ पत्रिका दैनिकमा समाचार लेखिएको छ, केही दिनभित्रै त्यस ठाउँमा पनि काम अघि बढ्नेछ । निर्माणको ठेक्का सम्झौता भने भइसकेको छ ।

सुरुङ खन्ने रफ्तार घट्यो
मेलम्ची खानेपानीको सुरुङ खन्ने रफ्तार भने विगतको तुलनामा घटेको छ । आयोजनाका अनुसार यसअघि प्रतिदिन ३० मिटरका दरले सुरुङ खन्ने काम हुँदै आएको थियो । तर, अहिले प्रतिदिन १९ मिटर मात्रै सुरुङ खनिँदै छ ।