राजनीति

संसद बैठकमा गतिरोध कायमै

काठमाडौँ । संसद् गतिरोध कायमै रहेका वेला प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद ठप्प छ । दलहरूबीच संवाद गराएर सहमति खोज्न सभामुख ओनसरी घर्तीले पहल गर्दै आएकी छिन् । उनले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक सोमबार बोलाएकी छिन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीच ४ पुसयता संवाद भएको छैन ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाहिरका कार्यक्रम र कांग्रेस तथा एमालेका शीर्ष नेताहरू पनि आफ्नै कार्यक्रममा व्यस्त रहेका कारण छलफल भएको छैन । आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, यसअघि ४ पुसमा सभामुख घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक राखेर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी थिइन् ।

शीर्ष नेताहरूले पनि सहमति गरेर संसद् खोल्ने आश्वासन दिएका थिए । तर, यसबीचमा दलहरूले छलफल नगरेपछि घर्तीले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक आह्वान गरेकी हुन् । सभामुख घर्तीले ११ पुसको दिउँसो ३ बजेका लागि संसद् भवन बानेश्वरमा बैठक बोलाएकी छिन् । उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताहरू, संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक आह्वान गरेकी हुन् ।

४ पुसमा प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाई सभामुखले तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी थिइन् । तर, यस अवधिमा प्रमुख दलहरूले सहमतिका लागि पहल नगरेको देखेपछि सभामुख आफैँले पहलकदमी लिँदै पुनः बैठक आह्वान गरेकी हुन् । सभामुख घर्ती सकभर सत्तापक्ष र विपक्षी पार्टीबीचको सहमतिमै संसद्को बैठक सुचारु गर्ने मनस्थितिमा छिन् ।

संसद् बैठक १२ पुसका लागि सारियो
संविधान संशोधनको विषयमा प्रमुख दलहरूबीच सहमति नभएपछि १६ मंसिरयता संसद् बैठक प्रभावित हुँदै आएको छ । पछिल्लोपटक १० पुसका लागि तोकिएको बैठक पनि सारिएको छ । संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले शनिबार १२ पुससम्म संसद् बैठक स्थगित गरिएको सूचना जारी गरेका छन् ।