पु.समाचार

सरकार ढाल्ने प्रपञ्चमा नलाग्न प्रधानमन्त्री दाहालद्वारा ओलीलाई आग्रह

सुर्यखबर संवाददाता,
गोरखा । प्रधानमन्त्री पुष्पकलम दाहालले मधेसी जनतालाई हेप्नु राम्रो नहुने विचार व्यक्त गरेका छन् । शुक्रबार गोरखामा एक कार्यक्रम उद्घाटन गर्दै अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोग प्रस्ताव, संविधान संशोधन प्रस्ताव र निर्वाचनका मुद्धाहरु प्याकेजमै सहमति गरेर अगाडि बढिने बताएका छन् ।

संविधान सभाबाट संविधान, संघीयता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता मुद्धाहरु माओवादीकै भएको प्रधानमन्त्री दाहालले दाबी गर्दै कांग्रेस, एमाले र मधेसवादीलाई मिलाउन संविधान संशोधनको प्रस्ताव दर्ता भएको बताएका छन् । उक्त प्रस्ताव एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाले ल्याएको भएपनि आफूले मुलुकलाई निकास दिन उनिहरुको प्रस्ताव मानेको खुलस्त गरेका छन् ।

एक हाइड्रोपावर उद्घाटन गर्न मन्त्रीहरु हितराज पाण्डे, जनार्दन शर्मा, विक्रम पाण्डे र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई संगै लिएर गएका प्रधानमन्त्री दाहालले मुलुकमा वर्तमान सरकारको प्रयासले लोडसेडिङ अन्त्य हुने दिशातर्फ उन्मूख भएको बताउदै चाँडै नै विवादित बुढी गण्डकी जलविद्युत आयोजना शुभारम्भ गरिने जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई सरकारलाई रचनात्मक सहयोग गर्न आग्रह गर्दै मधेसी जनजाती दलितलाई हेपेर कसैले पनि नजित्ने हुँदा हावादारी मुद्धा उठाएर सरकार ढाल्ने प्रयत्नमा नलाग्न आग्रहसमेत गरेका थिए ।