खेलकुद

पुलिस र मध्यामञ्चलको विजयी सुरुवात

काठमाण्डौ । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यामञ्चलले विजयी सुरुआत गरेका छन् । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार शुरु पुरुष फुटबलमा जितसंगै पुलिस र मध्यामञ्चल ३ अंक बटुलेका छन् ।

समूह चरणको खेलमा पुलिसले पुर्वाञ्चललाई २–१ गोलअन्तरले पराजित ग¥यो । पहिलो हाफको १९ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने पहिलो हाफकै ३१ औं मिनेटमा बुद्ध लामाले दोस्रो गोल गरे । पुर्वाञ्चलले दोस्रो हाफमा एक गोल फर्कायो । दोस्रो हाफको २४ औं मिनेटमा पुर्वाञ्चलका दिपक राईले फ्रि किकबाट गोल गरेका थिए ।

दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० गोलअन्तरले हरायो । मध्यमाञ्चलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे ।

दोस्रो हाफको १९ औं मिनेटमा निरबहादुरले मध्यमाञ्चलका लागि खाता खोले भने ३२ औं मिनेटमा रुमेशले गोलअन्तर दोब्बर पारे । ३९ औं मिनेटमा करिब ३० यार्डको दूरीबाट आकर्षक गोल गर्दै श्याम बाबुले मध्यमाञ्चलको जित अन्तर फराकिलो बनाए । शुक्रबार पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सुदूरपश्चिमाञ्चल र नेपाल आर्मी क्लबबीच हुनेछ ।