पु.समाचार

भारतले राखेको अहिलेसम्मकै खतरनाक प्रस्तावलाई नेपाली सेनाले अस्वीकार गरिदियो !

काठमाण्डौ । नेपाली सेनाले भारतले एउटा खतरनाक प्रस्ताव राखेको भन्दै त्यस्तो काम नफस्न नेपालका राजनीतिक दलहरुलाई सुझाव दिएको छ । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको हो ।

भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआइएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमाण्ड अन्तर्गन रहने गरी शान्ति मिसन लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको जनाइएको छ । भारतको यो कदम राष्ट्रिय हित विपरित हुने संकेत गर्दै सेनाले सो प्रस्ताव अस्वीकार गरेको हुनसक्ने अनुमान गरेको छ ।

शुरुवातमा सार्क मार्फत राष्ट्रसंघ (युएन) को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दुरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको जनाइएको छ । भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरिरहेको बताइएको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा निस्कनुअघि सेनाले आफ्नो सरोकार सरकारसमक्ष राखेको बुझिएको छ । मन्त्री महतले भने नेपालले शान्ति सेनामा पठाउने विषयमा हालको संरचनामा कुनै परिवर्तन नहुने बताएको छ ।

‘मैले युएनको भ्रमण गर्ने क्रममा महासचिव नेपाललाई दिँदै आएको कोटा बढाउन र अधिकृतहरुलाई पनि कोटा दिन भनेको छु,’ मन्त्री महतको भनाई उदृत गर्दै खबर बाहिर आएको छ ।