पु.समाचार

उपत्यका बन्द गराउँदै हिड्ने विप्लवका एक दर्जन कार्यकर्ता पक्राउ

काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका जनवर्गीय संगठनहरुले बिहीबार एक्कासि उपत्यका बन्दको घोषणा गरेका छन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिका विरुद्ध भन्दै ती संगठनहरुले उपत्यका बन्दको आयोजना गरेका हुन । बन्दका क्रममा बिहानदेखि उपत्यकामा सवारी साधनहरुको आवातजावतमा केही कमी देखिएको छ ।

सोही क्रममा बन्द गराउँदै हिड्ने करिब एक दर्जन कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार यो समाचार तयार पारुन्जेलसम्म बन्दका क्रममा कुनै तोडफोड र आगजनीका घटनाहरु भने भएका छैनन् । बिहानैदेखि उपत्यकाका चोक चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । बुधबार एक विज्ञप्ति जारी गरी सो पार्टीको राष्ट्रिय युवा जनस्वंसेवक, अखिल क्रान्तिकारी ट्रेड युनियन र अनेरास्ववियू क्रान्तिकारीले उपत्यका बन्दको घोषणा गरेका थिए ।