पु.समाचार

बढ्यो आन्तारिक उडानको भाडा, कुन ठाउँमा पुग्दा कति भाडा लाग्ने भो ? (भाडादरसहित)

काठमाण्डौ । सोमबारदेखि लागू हुने तयारीका साथ नीजि एयरलायन्सहरुले सुगम र पर्यटकीय रुटको हवाई भाडा दर बढाएका छन् । पर्यटनमन्त्री जीवनबहादुर शाहीले मंसिर २७ गते दिएको सहमतिअनुसार आन्तारिक रुटमा उडान भर्ने सबै निजी एयरलायन्सहरुले ३० प्रतिशतसम्म भाडा बढाएका हुन् ।

यद्यपि, दुर्गम भेगमा भने यो नियम लागू नहुने एयरलायन्सहरुले जनाएका छन् । भाडा बृद्धिअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रूटको हवाई भाडा बढेको छ । यस रुटमा आइतबारसम्म एकतर्फी भाडादर १० हजार १ सय रुपैयाँ थियो । तर, सोमबारदेखी जारी भएका टिकटमा २३ सय रुपैयाँ थप भई १२ हजार २ सय रुपैयाँ बनाइएको छ ।

पूरानो भाडा दरमा पर्वतीय उडानको भाडामा सबैभन्दा धेरै २४ सय ७५ रुपैयाँ थपिदा ११ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी काठमाडौं देखि भद्रपुरमा १८ सय ७०, विराटनगरमा १६ सय ४५, जनकपुरमा ६ सय, सिमरामा ५ सय ६५, तुम्लिङ्गटारमा ९ सय ८५, भरतपुरमा ६ सय, भैरहवामा ११ सय ७०, पोखरामा ८ सय ९०, नेपालगंजमा २१ सय २५ रुपैयाँ थपिएको छ ।

त्यसैगरी पर्यटकीय रुट मानिने लुक्लामा १२ सय ४५ रुपैयाँ थपिएको छ भने पोखरादेखी जोमसोमको रुटमा ७ सय २५ रुपैयाँ थपिएको छ । हवाई टिकटमा भाडा, फियुल सर्भिस चार्ज र यात्रु सेवा शुल्क (एयरपोर्ट ट्याक्स) हुन्छन् । यसपटकको वृद्धिमा फियुल सर्भिस चार्जको भाडादर पनि एयरलाइन्सहरुले चलाएका छन् । यी क्षेत्रको यात्रु सेवा शुल्क २ सय रुपैंया भने यथावत छ ।

नेपालगंजबाट पहाडी रुटहरु सिमिकोट, जुम्ला, मुगुको रारा, बाजुरा, डोल्पामा हुने दुर्गम हवाई भाडा भने पुरानै छ । त्यसैगरी काठमाडौं र विराटनगरबाट पूर्वी पहाडी रुटमा हुने हवाई सेवाको भाडा पनि पूरानै छ । तर, हाल उडानमा रहेका एयरलाइन्सहरुले बढीमा २० प्रतिशत हाराहारी मात्रै दुर्गममा उडान भर्छन् ।

दुर्गम क्षेत्रका दर्जन बढी रुटमा उडान भर्ने नेपाल वायु सेवा निगम हो । तर, उसले अधिकाशं रुटमा जहाज नभएको कारण देखाउदै नियमित उडान गर्दैन । निजी कम्पनीहरुले ०७१ फागुनमा भाडा पुनरावलोकन गर्न माग राखेका थिए । तर, भुकम्प र नाकावन्दीका कारण पुनरावलोकन कार्य स्थगन भएको थियो ।

भारतले लगाएको आर्थिक नाकावन्दीका बेला आयल निगमले एयर लिफ्ट गरी कोलकाताबाट हवाई इन्धन (एटीएफ) आयत गरेका बेला प्रतिलिटरमा १ सय १५ रुपैयाँ बढाई २ सय ३३ रुपैयाँ पुर्याभइएपछि निजी विमानहरूले ४४ प्रतिशतसम्म भाडा बढाएका थिए । नाकाबन्दी खुलेपछी हवाई इन्धन आयत सजिलो भएसँगै बढाइएको भाडादर हटाइएको थियो ।