आर्थिक

पहिलो चार महिनामा निक्षेप संकलन ३.९ प्रतिशतले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा निक्षेप संकलन ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७३ कार्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप २०.५ प्रतिशतले बढेको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले मात्र बढेको थियो ।

कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.९ प्रतिशत कर्जा चालू सम्पत्ति कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा कर्जामध्ये २७० अर्ब ४० करोड रुपैयाँ (प्रति ग्राहक १ करोडभन्दा कमको १५५ अर्ब ६७ करोडको आवसीय घर कर्जासमेत) रहेको छ ।

उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रावहित कुल कर्जाको १५ प्रतिशत हुन आउने भन्दै सोमबारको नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।