पु.समाचार

राजेन्द्र महतोले दिए खतरनाक संकेत, एमालेलाई ठूलै झड्का लाग्नसक्छ !

काठमाण्डौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने बताएका छन् । आइतबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  अध्यक्ष महतोले त्यसको लागि पछि महाभारत गर्ने गरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धीको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै अध्यक्ष महतोले भने, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, हामी कुनै हालतमा पनि पछि हट्दैनौं, पाण्डवले पाँच गाउँको लागि महाभारत गरे, अहिले पाएका उपलब्धीलाई संस्थागत गर्दै पछि हामी ५ जिल्लाको लागि महाभारत गर्छौं, अन्तिम लडाई लड्छौं ।’

साक्षात्कारमा महतोले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरिरहेकोप्रति टिप्पणी गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीजीले पहिला यही प्रस्तावमा हस्ताक्षर गर्दा राम्रो हुने अनि अहिले अरुले ल्याउँदा बेठिक कसरी हुन्छ ?’

उनले अघि थपे, ‘ओलीजीले आफूले हस्ताक्षर गर्दा राष्ट्रवादी हुने, अनि अहिले त्यही प्रस्ताव अघि सार्दा राष्ट्रघाती हुन्छ ?, यो दोधारे चरित्र हो ।’

महतोले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई लिएर सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रकै केही नेताहरुले गरेको विरोधलाई नाटकको संज्ञा दिँदै भने, ‘यो नौटंकी हो, यसबारेमा हामीले शेरबहादुर देउवा र प्रचण्डलाई रोक्नुहोस् भनेर भनिसकेका छौं, नभए कारवाही गर्नुहोस् भनेका छौं, जवाफमा देउवा र प्रचण्ड दुवैले यो पार्टीको आधिकारिक प्रस्ताव हो भन्नुभएको थियो, उहाँहरुले रोक्छौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

महतोले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा जानबाट अवरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर गल्ती गरिरहेको आरोप लगाउँदै भने, ‘संशोधन प्रस्तावलाई संसदमा छिर्नै नदिने कुरा संसदीय मुल्य र मान्यताको खिलाफमा हो, यो व्यवहार एमालेले सच्याउनुपर्छ, प्रस्तावबारे संसदमै छलफल गर्नुपर्छ, संसदीय प्रक्रियामा संसदमा विरोध गर्न पाईन्छ, संसदमै ल्याउन नदिने कुरा अप्रजातान्त्रिक हो ।’ उनले संशोधन प्रस्तावलाई संसदमै आउन नदिने कुरा गलत भएको बताउँदै संसद कसैको जमिनदारी नभएको टिप्पणी गरे ।

अध्यक्ष महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्नेहरुलाई मधेशमा नाङगोझार पार्ने चेतावनी दिँदै भने, ‘यो प्रस्तावलाई परिमार्जनसहित संसदमा अघि बढाउँदा यसको विरोध गर्नेहरुको विरोधमा मोर्चा जान्छ, सडकमा दबाब दिन्छौ, नाँगोझार पार्छौ, मधेशमा एमालेजस्ता पार्टीहरु टिक्न सक्दैनन्, त्यसपछि मधेशी जनताले एमालेमुक्त मधेशको निर्माण गर्नसक्छ, त्यहाँका जनताले एमालेलाई टिक्न दिँदैनन, अनि एमाले संशोधन गर्न तयार हुन्छ ।’

महतोले जनतालाई अधिकार दिनको लागि ल्याइएको संविधान संशोधन प्रस्तावमा सहयोग नगरे एमालेका मधेशका नेता तथा कार्यकर्ताहरुले नै एमालेमुक्त मधेश बनाउने दाबी गरे । उनले एमालेले अहिले राष्ट्रघाती काम गरिरहेको समेत आरोप लगाए ।

उनले अघि थपे,‘मधेश यसको प्रतिकारमा उत्रियो भने गृहयुद्ध भैहाल्छ, एमालेले सारा उपलब्धिलाई उल्ट्याउने काम गरिरहेको छ, साम्प्रादायिक मुठभेड गराउने गतिविधि गरिरहेको छ, संघीयताको मात्रै नभएर संविधानकै विरोधमा एमालेले काम गरिरहेको छ ।’ उनले संविधान असफल भए यसको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्ने जिकिर गरे ।

महतोले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित अघि बढाउनुपर्ने माग गर्दै भने,‘कुनैपनि बहानामा प्रस्ताव फिर्ता लिन मिल्दैन, थाँती राख्नपनि मिल्दैन्, यो कुरा काँग्रेस र माओवादी केन्द्रले स्वीकार गरिसकेका छन्, अबको संसद बैठकमा प्रस्ताव अघि बढाउने सहमति भैसकेको छ ।’