आर्थिक

राष्ट्र बैंकको तथ्यांकलाई विश्वास गर्ने आधार के ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कात्तिक महिनामा मूल्यवृद्धि ४.८ प्रतिशत रहेको तथ्यांक शुक्रबार सार्वजनिक गर्यो । बढ्दो महँगीले उपभोक्ताको खल्ती रित्तिएका बेला केन्द्रीय बैंकले ४.८ प्रतिशत मात्र मूल्यवृद्धि भएको विश्वास गर्ने आधार भने उपभोक्ताले पाउन सकेका छैनन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनासम्ममा औसतमा मूल्यवृद्धि सात प्रतिशत छ। अघिल्लो वर्ष औसतमा यो महिनासम्ममा मूल्यवृद्धि ८.१ प्रतिशत थियो। राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि घट्दै गएको हुँदा उपभोक्ताले राहत पाएको भनेको छ। तर, उपभोक्ता मूल्यवृद्धि घटेको तर्कसँग सहमत छैनन् ।

सामाजिक सन्जालमा आएका प्रतिक्रियामा पनि राष्ट्र बैंकले बजारको भन्दा कम मूल्यवृद्धिको तथ्यांक सार्वजनिक गरेको देखिन्छ। तथ्यांकअनुसार उपभोक्ताले गत वर्ष कात्तिक महिनामा औसतमा कुनै वस्तु तथा सेवाको खरिदका लागि १ सय १० रुपैयाँ ९० पैसा खर्च गर्नुपर्ने थियो भने यो वर्ष बढेर १ सय १६ रुपैयाँ १० पैसा पुगेको छ ।

अर्थात् अघिल्लो वर्ष कात्तिक महिनाको तुलनामा उपभोक्ताले करिब पाँच प्रतिशत मूल्य बढी तिर्नुपरेको छ। राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले मूल्य बढेको बताउँछन्।

“धेरैले केन्द्रीय बैंकको तथ्यांक आएपछि बजारको भन्दा कम मूल्यवृद्धि तथ्यांक सार्वजनिक ग¥यो भनेका छन्,” उनी भन्छन्, “अघिल्लो वर्ष सीमामा भएको अवरोधका कारण सहज आपूर्ति थिएन। जसको कारण मूल्यवृद्धि १० प्रतिशतले बढेको थियो। अहिले सहज आपूर्ति हुँदा पनि अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत मूल्य बढ्नु भनेको निकै बढी नै हो।”

अघिल्लो वर्ष बजारमा सबैभन्दा बढी मूल्य खाने तेल तथा दालको बढेको थियो। अघिल्लो वर्षको तुलनामा अहिले खाने तेल र दालको मूल्य घटेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार घिउ र खाने तेलको मूल्यवृद्धि अघिल्लो वर्ष ४१.१ प्रतिशतले बढेको थियो यो वर्ष यसको मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा १९.८ प्रतिशतले घटेको छ।

यस्तै दालको मूल्य अघिल्लो वर्ष ४४.१ प्रतिशतले बढेको थियो भने यो वर्ष जम्मा २.३ प्रतिशतले घटेको थियो। अघिल्लो वर्षको कात्तिक महिनाको तुलनामा दालको यो वर्ष जति घट्नुपर्ने थियो त्यति घटेको देखिएको छैन।

यस्तै, दूध, खाद्यान्न र माछामासुको मूल्य अघिल्लो वर्षको तुलनामा बढे पनि वृद्धिदर भने घटेको छ। अर्थात् अघिल्लो वर्षको तुलनामा खाद्यान्यमा उपभोक्ताले खाने तेल र दालबाहेक अन्य पदार्थमा अघिल्लो वर्षको तुलनामा बढी मूल्य तिर्नुपर्ने देखिन्छ। खाद्य समूहको मूल्यवृद्धि २।६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको कात्तिक महिनामा यस्तो समूहको वृद्धि १२.१ प्रतिशतले घटेको थियो।

गैरखाद्य समूहमा भने यातायात क्षेत्रमा मात्र अघिल्लो वर्षको तुलनामा मूल्य घटेको देखिन्छ। अघिल्लो वर्ष यातायात क्षेत्रको मूल्य ४.८ प्रतिशतले बढेकोमा यो वर्ष ६.४ प्रतिशतले घटेको छ। तर, लत्ताकपडा र घरायसी सामानको मूल्यवृद्धि आपूर्ति असहज भएको अघिल्लो वर्षको तुलनामा अहिले पनि अत्याधिक बढेको नै देखिन्छ।

अघिल्लो वर्ष १४.६ प्रतिशतले लत्ता कपडाको मूल्यवृद्धि बढेको थियो यो वर्ष यसको मूल्यवृद्धि ९.२ प्रतिशतले बढेको छ। यस्तै घरायसी सामानमा ११.४ प्रतिशतले मूल्य बढेकोमा यो पटक ८.९ प्रतिशतले बढेको छ।

क्षेत्रगत आधारले भने पहाडमा अघिल्लो वर्षको तुलनामा यो पटक ६.२ प्रतिशतले मूल्यवृद्धि बढेको छ यस्तै तराईमा ५.१ प्रतिशत, हिमालमा चार प्रतिशत र काठमाडौंमा तीन प्रतिशतले बढेको जनाउँदै आइतबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।