पु.समाचार

कमल थापा र पशुपतिशमशेरले दिए लोकतन्त्रलाईनै चुनौती दिने खतरनाक मन्तव्य !

गोरखा-राप्रपा र राप्रपा नेपाल एक भएको सन्देश दिन गोरखामा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै राप्रपाका नेताहरुले स्थानीय तहको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल थापाले प्रजातन्त्रको आत्मा चुनाव भएकाले छिटो चुनाव गर्नुपर्ने बताए । ‘देशमा स्थानीय निकायको निर्वाचन नभएको १९ वर्ष भयो । जनताले आफ्नो जनप्रतिनिधि चुन्न पाएका छैनन्’ भन्दै अध्यक्ष थापाले प्रश्न गरे, ‘स्थानीय तह वा निकाय कुनको चुनाव गर्ने भन्नेबारे किन दलहरुबीच सहमति जुट्न नसकेको ? ’ सीमित दलहरुले हिन्दू राष्ट्रको पहिचानमाथि आक्रमण गर्दै जातीय आधारमा सङ्घीयता लागू गर्न खोजेको भन्दै उनले विरोध गरे ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत ठूला दलले सिन्डिकेट लगाउँदा देश विकास नभएको थापाको आरोप छ । उनले भने, ‘लोकतन्त्र भनेको सीमित नेताले ठगेर खाने लुटतन्त्र हो । हामी प्रजातन्त्र चाहन्छौँ लोकतन्त्र होइन ।’ देश विकास गर्न र परिवर्तन गर्न हतियार उठाएर जङ्गल जानु नपर्ने भन्दै उनले चेतना वृद्धि गरे पुग्ने पनि बताए ।

गोरखा सदरमुकामको रानीपोखरी परिसरमा शनिबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र घोषणाका लागि जनताको साथ लिएर आफूहरु लागिपर्ने बताए । मुलुकको उन्नति, कल्याणका लागि दुई पार्टी एक भएर अघि बढेको उनको भनाइ थियो । ‘देशलाई खतराबाट जोगाउन दुई पार्टी एक भएका हौँ’, उनले भने ।

वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक तोड्नेहरुले अहिले सालिकमा माल्यार्पण गर्न थालेको बताए ।

कार्यक्रममा नेताहरु राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, सुनिल थापा, केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, गोरखा अध्यक्ष भगवानदास मल्ल, सहअध्यक्ष शङ्करराज अधिकारीलगायतले पार्टी एकढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिएको राप्रपाका जिल्ला सचिव सुदीप ढकालले जानकारी दिए । आमसभामा सहभागी हुन गाउँ गाउँका कार्यकर्ता सदरमुकाम आएका थिए ।