पु.समाचार

केपी ओलीबाट आयो झन् कडा प्रतिक्रिया, दिए राष्ट्रियतानै खतरामा पर्ने संकेत !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसद्बाट कुनै हालतमा पारित गर्न नदिने बताएका छन् । अखिल नेपाल बुद्धिजीवी सङ्घले शनिबार राजधानीमा आयोजना गरेको ‘संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले विधेयक संसद्बाट कुनै हालतमा पास हुन नदिने बताए ।
‘विधेयकका कुनै पनि बुँदा समर्थन गर्न योग्य छैनन्’, उनले भने, ‘सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसद्मा प्रवेश गर्न नदिएको स्पष्ट पारे । ‘विधेयक राष्ट्रियतालाई मजबुत नभई कमजोर बनाउने खालको छ’, उनले थपे, ‘विधेयक राष्ट्रिय हितका पक्षमा नभएकाले संसद्मा प्रवेश नै गर्न नदिएका हौँ ।’ उनले स्वच्छ, पवित्र मनसायले विधेयक दर्ता नगराएकाले नेपाल, नेपाली जनता र समयको मागअनुसार विधेयक नआएको बताए ।

निर्वाचन गर्न नसके मुलुक डरलाग्दो अवस्थामा पुग्ने भन्दै उनले सरकारले निर्वाचनको कुरा गरे पनि मिति घोषणा र कानुन बनाउने काम नगरेको बताए ।
उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरे पनि संसद्मा स्थानीय तहको विधेयक दर्ता गराएर सरकारले निर्वाचन गर्न नचाहेको स्पष्ट पारे ।

kp oli

अध्यक्ष ओलीले आफू नझुकेको हुनाले प्रधानमन्त्रीबाट हट्नुपरेको उल्लेख गर्दै विधेयक दाहालले प्रधानमन्त्री हुनका लागि गरेको कबुलियत भएको बताए। कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्तावले राष्ट्रियतालाई आघात पु¥याउने भएकाले स्वीकार गर्न नसकिएको बताए । उनले अहिलेको प्रदेशको सीमालाई तलमाथि गर्ने हो भने राष्ट्रियताको मूलमर्ममाथि प्रहार हुने उल्लेख गर्दै प्रस्ताव घातक भएको बताए ।

उनले प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिले भारत चिढिएको भन्दै भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अधिकार नभएको उल्लेख गरे । उनले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने मनसायका साथ विधेयक ल्याएको दाबी गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विधेयक कालान्तरमा नेपाललाई भारतमा मिसाउने छोटो हतियारका रुपमा आएको बताए । उनले पहाड र तराई कुनै हालतमा अलग गर्न नहुने भन्दै मधेसवादी दलहरुले दिल्लीको कुरा गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गर्दै संशोधन प्रस्तावले नेपालको राष्ट्रियतामाथि गम्भीर, जटिल र विकराल प्रश्न उठाएको बताए । उनले प्रस्ताव तराईलाई नेपालबाट स्वतन्त्र गराई भारतमा गाभ्न र नेपाललाई दोस्रो सिक्किम बनाउन ल्याइएको दाबी गरे ।

कार्यक्रममा प्रा डा सुरेन्द्र केसी, संविधानविद् विश्वकान्त मैनाली, नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य इन्द्रमोहन श्रेष्ठलगायतले विधेयकले राष्ट्रिय एकतालाई कमजोर पार्ने बताए ।