विशेष

निशानामा नेपाली नेता, यसरी हत्याको लिष्ट तयार पार्दैछ भारत !

काठमाण्डौ । यसबेला नेपाली राजनीतिक परिवेश निकै तरल अवस्थामा छ । जब कुनैपनि मुलुकमा राजनीतिक परिवेश संक्रमणकालीन तरल अवस्थाबाट गुज्रिरहेको हुन्छ तब त्यो देशमा बाहिरी शक्ति राष्ट्रहरुको चलखेल तिव्र रुपमा बढेर जान्छ । नयाँ संविधान कार्यान्वयनको चरणमा रहँदा मुलुक एक खालको तरल र संक्रमणमा रहनु स्वभाविकै हो । छिमेकी मुलुकहरुको गतिविधि समेत बाक्लो रुपमा बढिरहेको छ ।
नेपालका राजनीतिक दल, राजनीतिक नेता र समग्र नेपाल विशेषगरी भारतसँग नराम्रोसँग चिढिएको देखिन्छ । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भारतीय हस्तक्षेप सहँदै आएको नेपालले पछिल्ला वर्ष भने प्रत्यक्ष हस्तक्षेपको महसुस गरिरहेको छ । यही बीचमा अहिले नेपाल–भारतबीचको सम्बन्धमा एउटा नयाँ बहस समेत शंकाको घेरामा तानिन थालेको छ । भारतसँग बढी टक्कर लिने नेपाली नेताहरुलाई भारतको योजनामा खतरा हुनसक्ने संकेतहरु समेत बाहिर आएको भन्दै केही नेताहरुले त्यतातर्फ पनि विशेष ध्यान दिन र सतर्क रहन आग्रह गरिरहेका छन् ।

शुक्रबार रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतले चाह्यो भने नेपालका नेताहरुको जतिबेला पनि हत्या हुनसक्ने कुरा स्वीकार गरे । अध्यक्ष विजुक्छेले यसबेला भारतको इशारामा नेपालमा सरकार परिवर्तनको खेल सुरु भैसकेको र भारतसँग टक्कर लिने जोसुकै नेताको हत्या हुनसक्ने समेत उनले संकेत गरे । उनले भने, ‘नेपालका नेताहरुलाई जतिबेला पनि भारतले हत्या गर्नसक्छ, विगतमा नेपालमा गरिएका हत्याले यसलाई पुष्टि समेत गरेको छ ।’ नेता विजुक्छेले आफ्नो पायकमा काम नगर्ने नेताहरुको भारतको योजनामा जतिबेला पनि हत्या भएको प्रसंग उल्लेख गर्दै भारतका यस्तो खालको ज्यादतीको कडा आलोचना समेत गरे । उनले नेपालका लागि भारतका राजदूत रञ्जित रायको गतिविधिप्रति शंका व्यक्त गर्दै उनलाई छिटोभन्दा छिटो भारत फिर्ता गर्नुपर्ने समेत बताए ।

भारत किन यसो गर्छ ?
नेपाल र भारतको सम्बन्ध निकै पूरानो सम्बन्ध हो । राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा भारतसँग घनिष्ठ रुपमा जोडिएको नेपाललाई भारतले अप्रत्यक्ष रुपमा आफ्नै औपनिवेशिक थलोको रुपमा मान्ने गरेको विश्लेषकहरु बताउँछन् । त्यसैले पनि भारतीय शासकहरु नेपालका नेताहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफ्नो बहसमा राख्न चाहान्छन् ।

india1

सयौं वर्षसम्म नेपालमा शासन गर्दै आएको राजसंस्थालाई समेत भारतीय सत्ताधारीहरुले आफ्नो बहसमा राख्न खोज्दा कुटनीतिक समिकरण बिग्रेको इतिहास भेटिन्छ । त्यतिमात्र होइन नेपालमा भएका ठूला –ठूला विनाशकारी हत्याकाण्डका घटनाहरुमा समेत भारत जोडिएको आशंका गरिन्छ तर नेपालले पुष्टि गर्ने कुनै आधारशीलाहरु निर्माण गर्न सकेको देखिदैन । यतिसम्मकि नेपाल सरकारले आफ्नो आधिकारिक गुप्तचर संस्थालाई समेत व्यवस्थित पारेको देखिदैन । जबकि यसबेला भारतको शक्तिशाली गुप्तचर संस्था ‘रअ’ काठमाण्डौमा निकै शक्तिशाली रुपमा आफ्ना काम कारवाहीहरुलाई अघि बढाइरहेको छ ।

जानकारहरु भन्ने गर्छन्,‘भारतीय गुप्तचर संस्था ‘रअ’ जबसम्म काठमाण्डौमा शक्तिशाली रुपमा रहिरहन्छ, तबसम्म भारतसँग टक्कर लिने जोसुकै नेपालीहरुको जीवन र भविष्य असुरक्षित रहन्छ, किनभने ‘रअ’ ले काठमाण्डौमा त्यति धेरै सञ्जाललाई मजबुत बनाइसकेको छ ।’

भारतको छिमेकी मिसन इतिहासदेखिनै विस्तारवादी चरित्रसँग जोडिएको छ । सिक्किम र भुटानसँग जोडिएका इतिहासका घटनाहरुले यसको पुष्टि गर्छ । त्यसकारण पनि आफ्नो बहसमा आउने नेता र व्यक्तिलाई भारतले आफ्नै चरित्र अनुकुल परिवर्तन गर्दै लैजाने गरेको छ भने टक्कर लिनेहरु विरुद्ध कडा कदम चाल्ने उसको रणनीति हुने गर्छ ।

नेपालको राजनीतिक इतिहासमा घटेका ठूला–ठूला हत्याकाण्डमा समेत भारतीय गुप्तचर संस्थाको नाम जोडिएर आउनुले पनि यसको पुष्टि गर्ने प्रशस्त आधारहरु दिने गरेको जानकारहरु बताउँछन् ।