समाचार

यस्तो देखियो स्थानीय शिक्षकको कुटाईबाट मृत्यु भएकी लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट

काठमाडौँ । काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्टमा भनिएको छ – शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन।’

शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्तीका अनुसार मृतक लक्ष्मीका शरीरभरी एकै किसिमको चोट र निलडाम छन् । उनको शरीरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम देखिएको छ।

‘मृत्यु लगत्तै पोष्टमार्टम गरिएको भए धेरै कुरा भन्न सकिन्थ्यो। सात दिनमा शव धेरै विग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिदैन,’ डा. वस्तीले भने।

३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा सुमनले बयान दिएका थिए, भन्दै शुक्रबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।