समाचार

नेपालको भौगोलिक नक्सा अब डिजिटलाइज हुने

काठमाण्डौ । नेपालको भौगोलिक नक्सा डिजिटलाइज हुने भएको छ। डिजिटलाइज भएपछि नेपालका सिमानामा हुने गतिविधि र अतिक्रमणबारे मुलुकको कुनै पनि स्थानबाट सजिलै थाहा पाउन सकिन्छ।

गोरखा भूकम्पले क्षति पुर्याकएका नापी मापन केन्द्रहरूलाई पुनःस्थापित गर्दा यस्तो प्रविधिका उपकरण जडान हुने नापी विभागले जानकारी दिएको छ। अति आधुनिक प्रविधिका ती उपकरण देशभर १५० वटा राखिनेछ। ती केन्द्र स्थापनाका लागि करिब दुई अर्ब ६६ करोड रुपियाँ आवश्यक पर्नेछ ।

ती उपकरण कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम (सीओआरएस) प्रविधिमा आधारित हुनेछन्। नेपालको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म ती उपकरण भूउपग्रहीय दिशानिर्देशीय प्रणाली (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम)का आधारमा सञ्चालन हुनेछन् ।

यो प्रविधिको आधारमा ससाना ‘इलेक्ट्रोनिक रिसिभर’ले आफ्नो स्थान कहाँ हो भनेर जानकारी दिन्छन्। समयको सिग्नलसँगै देशान्तर, अक्षांश र उचाइलाई निश्चित रूपमा उक्त रिसिभरले मापन गरिरहेको हुन्छ। उक्त रिसिभरले समयको सिग्नलका आधारमा स्थानीय समयलाई मापन गर्नसक्छ। दसगजामा रहेका स्तम्भलाई आधार लिएर ती उपकरण देशका विभिन्न स्थानमा राखिने नापी विभागका महानिर्देशक कृष्ण बीसीले बताए।

उनले भने, “भूकम्पपश्चात् पुनःनिर्माण कार्य र कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम स्थापना तथा भूउपग्रहीय प्रणालीको प्रभावकारी उपयोगिताले नेपालको सिमानालाई केन्द्रबाटै व्यवस्थित गर्न सकिन्छ। ” भूउपग्रहीय दिशानिर्देशीय प्रणालीका कारण नेपालमा नापीनक्सा बनाउने र सर्भे गर्ने काम अझ व्यवस्थित हुनेछ।

भूउपग्रहीय दिशानिर्देशीय प्रणालीमा रहेर कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टमले काम गर्ने भएकाले नेपाली सिमाना मात्र होइन, नापीनक्सा एक इन्च पनि तलमाथि नहुने बताइएको छ।

अमेरिकाको जीपीएस प्रविधि, रुसको ग्लोनास, युरोपको ग्यालिलियो, चीनको बीडीएस, जापानको क्युजेडएसएस, भारतको गगनलगायतका भूउपग्रहलाई समेटेर भूउपग्रहीय दिशानिर्देशीय प्रणाली विकसित पारिएको थियो।

नापी विभागस्थित खगोल तथा भूमापन महाशाखा प्रमुख नीरज मानन्धरका अनुसार यसै प्रणालीका आधारमा गोरखा महाभूकम्पले काठमाडौं उपत्यका एक मिटर माथि उठेको र एक दशमलव आठ सेन्टिमिटर दक्षिणपूर्व सरेको पत्ता लागेको हो।

यो प्रविधिका आधारमा भारतीय उपमहाद्वीपमा रहेको नेपाली भूमि तिब्बती चिनियाँ उपमहाद्वीपभित्र कति सरेको छ भनेर पत्ता लगाउन सकिन्छ। जमिनका सतह हलचल भइरहने भएकाले यो प्रविधिले भूकम्पको पूर्वानुमानमा पनि सहयोग गर्नसक्छ भन्दै बिहीबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।