खेलकुद

सोमबारदेखि लालीगुराँस बास्केटबल प्रतियोगिता सुरु हुने

काठमाण्डौ । लालीगुराँस नेसनल एकेडेमीको आयोजनामा दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा आयोजकका दुईसहित विभिन्न १५ विद्यालयका १६ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीले सहभागी टिमलाई ४ समूहमा बाँडेर लिग कम नकआउट आधारमा खेल खेलाइन बताए ।

समूह ‘ए’ मा लालीगुराँस ‘ए’, पुष्पकुञ्ज, राइजिङ स्टार र ओडिसी तथा समूह ‘बी’ मा ज्ञान सिन्धु, पिपुल्स एकेडेमी, नेरिक एकेडेमी र हिमालयन एकेडेमी रहेका छन् । त्यस्तै, भ्याली पब्लिक, एचएचसीए, लालीगुराँस ‘बी’ र ग्रिनल्यान्ड समूह ‘सी’ तथा एन्जल्स हर्ट, नवोदित, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) समूह ‘डि’ मा परेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजककै कोर्टमा हुनेछ । फाइनल पुस २ गते हुनेछ । यसअघि पहिलो संस्करणको उपाधि लालीगुराँसले जितेको थियो ।