समाचार

लोकसेवा आयोगमा दरखास्त दिनहरुको संख्या घट्न थाल्यो

काठमाडौँ । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन ।

आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ । दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन् ।

आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन । यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन आएनन् ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले गोरखापत्रसँग कुरा गर्दै कुल १२६ वटा विज्ञापनबाट १७२ पदका लागि दरखास्त आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए । कोइरालाले भने, ‘‘दरखास्त नपर्नुको मुख्य कारणमा सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुग्नु, तल्लो तहमा कार्यरत कर्मचारीको माथिल्लो पदमा दरखास्त दिने अवधि नपुग्नु, सम्बन्धित पदका लागि अनुभव नहुनु र यस्ता जनशक्ति बाहिर कतै व्यस्त रहनुले पनि दरखास्त नपरेको हो । ’’

आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत नारायण पोखरेलले शैक्षिक योग्यता तोक्ने, सेवा समूह सञ्चालन गर्ने कार्य सम्बन्धित मन्त्रालयले हो, सेवा प्रवेश गरेकाले आफ्नो योग्यता वृद्धि गर्न नसक्नु पनि दरखास्त नपर्नुको कारण भएको बताए ।

आयोगका अनुसार, दरखास्त नपरेका पदहरूमा नेपाल स्वास्थ्य सेवातर्फ ११ औँ तह तथा राजपत्राङ्कित तृतीय श्रेणीतर्फ नेपाल इन्जिनियरिङ सेवाका पदहरू धेरै छन् । राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत सबै पदमा निकटतम तल्लो पदमा कुनै उम्मेदवार नहुने कारणले आन्तरिक प्रतियोगितातर्फबाट पूर्ति हुने पदहरूमा कुनै दरखास्त नपरेको हो ।

यसैगरी, नेपाल स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूमा आवश्यक न्यूनतम योग्यता र सेवा अवधि तथा अनुभवको कमी एवम् केही पदको शैक्षिक योग्यताको जटिलताका कारणले कुनै दरखास्त नपरेको जानकारी आयोगले दिएको छ ।

नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियररिङ समूह, माइनिङ इन्जिनियरिङ पद, सिभिल एभियसन समूह, सिभिल एभियसन अपरेसन उपसमूहको सिभिल एभियसन इन्जिनियरको शैक्षिक योग्यताको जटिलताले दरखास्त नपरेको निष्कर्ष आयोगको छ । यसरी दरखास्त नपरेका पदहरूमध्ये अधिकांश पदमा आन्तरिक प्रतियोगिताका लागि विज्ञापन आह्वान गरिएको थियो । यस्ता पदमा फेरि विज्ञापन गर्दा पनि दरखास्त आएन भने ती पदहरूलाई खुलातर्फबाट पदपूर्ति गरिनेछ ।

राजपत्राङ्कित तृतीय श्रेणीका लागि रेखा विशेषज्ञ पद र नवौँ तहको कन्सलटेन्ट ग्यास्ट्रोइन्टोरोलोजिकल सर्जन पदका लागि गरिएको खुला विज्ञापनमा एउटा पनि दरखास्त परेन । यसैगरी, स्वास्थ्य सेवाका लागि कम्तीमा ४४ वटा विज्ञापन आन्तरिक प्रतियोगिताका लागि गरिएकोमा एउटा पनि दरखास्त नपरेको पाइएको छ । यस्तै, इन्जिनियरिङ, कृषि, शिक्षा सेवाका लागि आह्वान गरिएका विज्ञापनमा पनि कोही उम्मेदवारको दरखास्त परेन ।

बीस पदमा उम्मेदवार सिफारिस नै भएन
आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन । यस्तो हुनुको कारणमा एउटै उम्मेदवार धेरै वटा विज्ञापनको लिखित परीक्षाको नतिजामा छनोट भएका, अन्तर्वार्तामा अनुपस्थित भएका, प्रयोगात्मक परीक्षामा सामेल नभएका, शैक्षिक योग्यता र अनुभव नभएका आदि कारणले ती पदमा सिफारिस हुन सकेन ।

यस आर्थिक वर्षमा आन्तरिक प्रतियोगितात्मक परीक्षा, खुला तथा समावेशीतर्फबाट पदपूर्ति हुन नसकेका विभिन्न श्रेणी÷तहतर्फका विभिन्न सेवा, समूहका २० पदहरूमा उम्मेदवारको सिफारिस हुन नसकेको जानकारी आयोगले दिएको छ ।

आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत पोखरेलका अनुसार, फाराम भर्ने विदेश जाने, परीक्षामा उपस्थित हुन नसक्नु, दुर्गम रहनुजस्ता विविध कारणले ती पदमा सिफारिस नभएको हो ।

खरिदार पदका लागि आन्तरिक प्रतियोगितातर्फ विज्ञापन भएको सङ्ख्याभन्दा सिफारिस हुने सङ्ख्या कम छ भएको पाइएको छ । यसो हुनुको कारण कार्यालय सहयोगी पदमा स्थायी नियुक्ति भई तीन वर्ष नपुगेका वा सङ्ख्या नै थोरै भएकाले पनि यस्तो भएको हो । नेपाल सरकारले कार्यालय सहयोगी पदमा खुलातर्फबाट पदपूर्ति नगर्ने निर्णय गरेकाले पनि उम्मेदवारको सङ्ख्या कम भएको हो ।

यसैगरी, आयोगका क्षेत्रीय निर्देशनालय तथा अञ्चल कार्यालयहरूबाट विभिन्न श्रेणी तथा तहअन्तर्गतका सेवा समूहका १८३ पदका लागि भएको लिखित परीक्षाबाट कुनै पनि उम्मेदवार छनोट हुन नसकेको जानकारी आयोगले दिएको छ ।

यस्तै, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुने पदहरूमा सम्भाव्य उम्मेदवार सङ्ख्याको कमी, बढुवा हुनेभन्दा निकटतम तल्लो श्रेणी/तह तथा तह कायम नरहेको खुला तथा समावेशी दलहरूमा सङ्ख्याभन्दा न्यून सङ्ख्यामा लिखित तथा आन्तरिक अन्तर्वार्ताबाट छनोट हुने आदि कारणले राजपत्र अनङ्कित श्रेणीका ५१ पदमा कोही पनि सिफारिस भएनन् ।

आयोगले १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन गरेकोमा कोही पनि उम्मेदवार परीक्षा दिन नै आएनन् । यो पनि आन्तरिक प्रतियोगितात्मक परीक्षा थियो भन्दै सोमबारको गोरखापत्र दैनिकमा नारद गौतमले समाचार लेखेका छन् ।