समाचार

अन्ट्राटिकाको सर्वोच्च शिखर आरोहणका लागि सञ्जयलाई ३ लाख

काठमाण्डौ । अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्सन आसिफ आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई शनिवार टि.वि. आई ग्रुपले रु. ३ लाखसहित सम्मान गरेको छ । नेपाललाई पर्वतारोहणको क्षेत्रबाट संसारलाई चिनाउन अथक भुमिका खेलेका पण्डितलाई यसपटक अन्ट्रारटिका महादेशको आरोहणको लागि सहयोग गरिएको हो ।

कार्यक्रममा टि.वि.आई ग्रुपका कार्यकारी निर्देशक राजु नेपालले ३ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा ,आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को नेपाली पोसाक दौरा–सुरुवाल र भादगाँउले टोपी लगाई आधार शिविरदेखि शिखरसम्म उल्टो हिँडेर सफल आरोहण समेत गरेका थिए । त्यतिमात्र होइन युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनांगै भएर नयाँ रेकर्ड कायम गरेका थिए ।

टि.वि.आई ग्रूपका अध्यक्ष एवम एनआरएनएका बरिष्ठ उपाध्यक्ष तथा व्यवसायी भवन भट्टले संजयजस्ता नेपाललाई संसारमा चिनाउने आरोही खेलाडीहरुलाई आफुले सदैव सम्मान र साथ दिने कुरा बताए । आफुले संजय जापानको सर्वोच्च शिखर फुँजी आरोहण गर्दा पनि सहयोग गरेको कुरा पनि स्मरण गराए । पण्डितले जापान तथा अमेरिकाको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् ।