खेलकुद

फेका कप फुटबलको उपाधि करियरलाई

काठमाडौं । करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ११ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवौं संस्करणको उपविजेता करियरले पहिलो संस्करणको विजेता न्यु स्टार पोललाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरेको थियो ।

करियरबाट विवेक खवास, जीवन धामी, जीवन लामा, विदेश राई र आकाश शाहले गोल गरे । न्यु स्टारका तर्फबाट रुपेश बस्नेत, दीपेश बस्नेत र कृतन अर्यालले गोल गरेका थिए ।

निर्धारित ७० मिनेटको खेल र थप गरिएको १५ मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा एक गोल बचाएका करियरका न्युसन श्रेष्ठ फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिन सफल भए ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा कस्मिकले हाइल्यानडलाई १–० गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । चौथो हुने हाइल्यान्डलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

करियरका विवेक खवास उत्कृष्ट खेलाडी, करियरकै सुजन भट्टराई उदीयमान खेलाडी, न्यु स्टारका सुमन खत्री उत्कृष्ट डिफेन्डर तथा न्यु स्टारकै साजन गिरी उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ४ गोल गरेका कस्मिकका रञ्जन गुरुङ सर्वाधिक गोलकर्ता बने । गोल्डेन बड स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई सांसद् दीपक कुइकेल, प्रधानमन्त्री कार्यालयका प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्याब्सनका केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँ, आयोजक फेकाका अध्यक्ष युवराज भट्ट, कार्यक्रम संयोजक मुरारीप्रसाद सन्जेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर १६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा विभिन्न विद्यालयका २० टिमले प्रतिस्पर्धा गरेका थिए ।