पु.समाचार

कागजमा कालोपत्रे देखाएर करोडौं भ्रष्टाचार

काठमाडौं । सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको पाइएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ । वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको छ भने अन्य भाग जीर्ण नै छ ।

तर, सडक कालोपत्रे गरिसकेको भनेर तीन करोड रुपैयाँ निकासा भएको छ । १८ किलोमिटरमध्ये पूर्व–पश्चिम लोकमार्गको लहानखण्डतर्फको पाँच किलोमिटर सडक पटक–पटक गरी तीनपटकको ठेक्का प्रक्रियाबाट कालोपत्रे गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर चितरञ्जन रानाले बताए ।

आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा तीनवटा निर्माण कन्स्ट्रक्सनले सो सडक कालोपत्रे गरेको र त्यसबापत करिब तीन करोड रुपैयाँ निकासा लिएको रेकर्डमा देखिन्छ । तर, स्थानीय भन्छन्, ‘कालोपत्रे नभएको सडकमा कागजमा मिलाएर करोडौँ भ्रष्टाचार गरिएको छ ।’आइतबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।