कुराकानी

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक

०३२ सालदेखी शिक्षण पेशामा संलग्न भएकी प्रतिष्ठीत शैक्षिक संस्था ग्लेक्सी स्कुलकी प्रन्सिपल गीता राणा शिक्षा क्षेत्रमा चिनाईरहनुपर्ने नाम होईन, काठमाण्डौको ज्ञानेश्वरमा रहेको उनको गुणस्तरीय शिक्षा दिने ग्यालेक्सी स्कुल भने राणाले ०४२ सालमा मात्र स्थापना गरेकी हुन् । अखिल नेपाल खेलकुद संघमा नेतृत्व गरिसकेकी राणा प्याब्सन, एनप्याब्सन लगायत थुप्रै सामाजिक संस्थाहरुमा समेत नेतृत्व गरिसकेकी छिन् । शिक्षा क्षेत्रकी बिशेषज्ञ भन्दा फरक नपर्ने राणा ०७० सालको संबिधानसभा निर्बाचन पश्चात बिजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रीकबाट समानुपातिक सांसद भई राजनीतिमा सकृय छिन् । केहि समय अगाडिमात्र उनी सोही पर्टीबाट केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित भएकी छिन् । बेला बेला अख्तियारले पत्र काटेको, अनियमितताको आशंकामा स्कुलमा छापा मारिएको भनेर समाचार आएर बिबाद भएपनि महिला भएर शिक्षा क्षेत्रमा प्रगती गर्ने ब्यक्ति भएकोमा नेपालीहरुले गर्व गर्ने ठाँउ छ, यस्तै बिबिध बिषयमा र्सुखबर प्रतिनिधिले उनै बहुप्रतिभाकी धनी गीता राणासंग गरेको कुराकानीको संपादित अंश -:

१. सञ्चै हुनुहुन्छ ?
ठीक छु, बिहान बेलुकी आफ्ना कामहरुमा ब्यस्त छु ।

२.तपाई बहुप्रतिभाकी धनी भनेर बजारमा चिनिनुहुन्छ, मुख्य रुपमा आफुले आफूलाई के भनेर चिनाउनुहुन्छ ?
म आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउदछु, म संलग्न भएका सबै कार्यहरु सामाजिक नै भएकोहुंदा आफूलाई यही नामले चिनाउन रुचाउछु ।

३.अनि तपाई यत्रो ठूलो स्कुल, त्यसपछि खेलकुद र अन्तिमसमयमा राजनीतिमा समेत संलग्न हुनुभएको छ, सबैतिर समय दिन सक्नुभएको छ त ?
दिएकी छु, दिन्छु, समयको ब्यबस्थापन गर्नुपर्छ मिलिहाल्छ नि, तर अलि धेरै ब्यस्त भने भईन्छ । यी सबै त सामाजिक कामहरु नै परे नि हैन र ?

४. पैसा ख्वाएर सांसद बनेको अभियोगमा अख्तियारको छानबिनमा हुनुहुन्छ नि हैन ?
होईन, प्रमाण हुनुपर्यो नि, अख्तियारले सोधपुछका लागि चिठी काटेको हो, त्यसको जवाफ पनि हामीले दिएका छौं । अख्तियारले यो वा त्यो भनेको छैन ।

५.स्कुलमा बेला बेला बिद्यार्थि संगठन र सम्बन्धित निकायहरुले छापा पनि हानेका समाचारहरु आईरहेका छन् नि ?
बिद्यार्थिलाई दिने छात्रबृतिको बिषयलाई लिएर एकपटक स्कुलमा छापा हानिएको थियो, खासगरी एकजनालाई दिने छात्रबृति नियमानुसार हामीले दुईजनालाई बांडेर दिएका थियौं, जस्तै एकजनाले ४ हजार छात्रबृति पाउछ भने बांडेर एकजनालाई २५ सय र अर्कोलाई १५ सय दिएका थियौं, कुरा गरेपछि वहाँहरुले बुझ्नुभो, कुरा मिल्यो । हामीले सबै कानुन अनुसार काम गरेका छौं । आफ्नो मुलुक भनेर जिम्मेवार भएर काम गरिरहेका छौं, त्यसमा कसैले शंका नै गर्नु पर्दैन, हामी आफैं यसमा जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

६.शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्यापारिकरण भयो भन्ने आरोप छ नि, यसमा के भन्नुहुन्छ ?
शिक्षा क्षेत्रमा हामीले सरकारले तोकेको शूल्क लिएका छौं, यसलाई कसरी ब्यापारिकरण भन्ने ? अब धनी हुंदा सामन्ती भयो भन्ने यदाकदा सुनिन्छ, त्यो गलत हो । नियमानुसार जिल्ला शिक्षा कार्यलय, शिक्षा मन्त्रालयको अनुगमन, निर्देशनमा रहेर हामीले काम गरिरहेका हुन्छौं, सबैकुरामा नेगेटिभ सोचाई त हुनुभएन नि । शूल्कको मापदण्ड तोक्ने, निर्धारण गर्ने त्यसपछि तोकिएको भन्दा बढी शूल्क लिनेलाई कारबाहि गर्ने नियम सरकारले बनाउनुपर्छ, त्यसको अनुगमन गर्नुपर्छ, जे पायो उही आरोप लगाउनु राम्रो होईन । सरकारको नियमअनुसार काम गरेका शैक्षिक प्रतिष्ठानलाई जथाभाबी आरोप लगाउनु राम्रो होईन ।

७. नेपालको शिक्षा क्षेत्र बेकम्मा भएर हो वा किन शिक्षित बर्ग बिदेश पलायनको शिकार भईरहेको छ, शिक्षित बर्ग शहरमुखी हुने समस्या आएको छ ?
अस्थिर राजनीति, बन्द हड्तालका कारण रोजगारका अवसरहरु नभएर युवाहरु बिदेश पलायन भएका हुन् । शहरीकरण हुनु बिकासको सूचक हो तर हाम्रो मुलुकमा गाउँका मानिसहरु भईरहेको शहरमा आएर बस्ने चलन चल्यो, गाँउलाई नै शहर बनाउने अभियानमा राज्य लाग्नुपर्छ, अस्पताल, यातायात, शिक्षा स्वास्थ्यको पहुँचमा गाउँका मानिसहरुलाई पनि राख्नु पर्दछ, सरकारले भौतिक पुर्बाधारहरुमा लगानी गर्नुपर्छ । रोजगारीको श्रृजना गर्नुपर्छ ।

मुलुक हाँक्ने नेतृत्व सक्षम नभएका कारण पनि यावत समस्याहरु आएका हुन्, समग्र मुलुकको हितको लागि काम गर्ने ईमान्दार र इच्छचशक्ती भएको नेतृत्व नभएका कारण चाकडी र चाप्लुसी गर्नेहरु राज्यको माथील्लो निकायमा जाने परम्परा मौलायो, सक्षम ब्यक्तीको मुल्याँकन गरि अवसर दिने चलन बसेन त्यसैको परिणाम स्वरुप यी सबै समस्याहरु हामीले भोगिरहनुपरेको छ । शिक्षा क्षेत्रलाई नै बेकम्मा भयो भनेर भन्न मिल्दैन । नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको हुन लागेको बेला यस्तो आरोप लगाउनु ठीक होईन ।

geeta-with-baburam

८ . तपाई मधेसी जनअधिकार फोरम लोकतान्त्रीकको साँसदमात्र नभएर उपाध्यक्ष पनि हुनु हुनुहुन्छ, अब शिक्षामात्र नभएर समग्र क्षेत्रको जिम्मेवारी तपाईमा आएको होईन र ?
हो, मैले सांसद बिकास कोषबाट आउने ५० लाख रकम कैलालीमा खर्च गरिरहेकी छु, आउदो संसदीय निर्बाचनमा सांसदमा लड्ने योजना छ, सक्षम महिला भएकी हुनाले महिला संरक्षणमा भन्दा प्रत्यक्ष निर्बाचन लडेर आउने योजना मेरो हो, अरु सक्षम महिलाहरुलाई पनि संरक्षणमा भन्दा खुल्लामा चुनाब लड्ने र उक्त ठाँउ अरुलाई दिन मेरो आग्रह छ, भर्खरमात्र मैले मधेसी जनअधिकार फोरम लोकतान्त्रीक पार्टीको उपाध्यक्षको जिम्मेवारी लिएकी छु । चाहे जितोस चाहे हारोस चुनाव चैं लड्ने नै हो । सामाजिक काममा समलग्न भएकी हुनाले सबै क्षेत्रलाई आफ्नो ठांउबाट योगदान गरेकी नै छु जस्तो लाग्छ ।

९.कहाँबाट चुनाव लड्नुहुन्छ ? काठ्माण्डौमा गगन थापाको क्षेत्र नं. ४ बाट भन्ने सुनिन्छ नि ?
कैलाली क्षेत्र नं. ५ बाट चुनाव लड्छु होला, काठमाण्डौमा कुन क्षेत्रबाट लड्ने भन्ने निश्चित भएको छैन, गगनकै वा अरु कुनै क्षेत्र हुन सक्छ । अहिले साँसद बिकास कोषको रकम कैलालीमा नै खर्च गरिरहेकाले उतैको सम्भाबना छ, मेरौ पुख्र्यौली पनि उतै हो ।

१०.तापाई साँसद हुनुहुन्छ, हिन्दु राष्ट्र र संघीयतामा भएको बिबादको बिषयमा तपाईको धारणा के छ ?
अब मैले संसदमा पनि पटक पटक बोलिरहेकी छु, ९० प्रतिशत भन्दा बढी हिन्दु भएको मुलुकमा हिन्दु धर्म किन राख्न नसक्ने ? यो कुरामा ध्यान जाओस भन्ने मेरो भनाई छ । अझ गम्भिर कुरा त के छ भने मधेसी मोर्चा बाहेका ५ सय भन्दा बढी सांसदहरुले हिन्दु राष्ट्र राख्नुपर्छ भनेर आफूसंग बताएका छन् । यसमा म आफ्नो पार्टीका साथीहरुसंग समेत बिमती राख्दै आएकी छु । म त अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ भन्ने प्रखर बिचार राख्ने महिला सांसद हुँ । संघीयताले देश बिखण्डन हुन्छ भन्ने सम्भाबना देखिसकिएको छ । अब हामीले समान्य कल्पना गरौं न बलियो बहुमत हुंदाहुंदै झिनो अल्पमतले त काम गर्नुभएन नि, हिन्दु राज्य र बिकेन्द्रीकरण अहिलेको बिषम राजनीति परिवेषका बिबाद समाधान हुन्, भन्ने मेरो मान्यता छ ।

अन्त्यमा केहि भन्नु छ तपाईलाई ?
तपाईको सुर्यखबर डट्कम् मार्फत मैले आफ्ना कुरा जनता समक्ष राख्न पाएं, तपाईको मिडियालाई धन्यबाद दिंदै, सबै मिलेर सदियौंदेखि बसेको हाम्रो साझा फुलबारीलाई भत्काउने काम नगरौ, मुलुकलाई परनिर्भरताबाट बचाऔं, हाम्रो मुलुकलाई आत्मानिर्भर बनाउनेकामतिर लागौं भन्ने मेरो मान्यता हो, त्यसपछि सबै आफैं ठीक हुदै जान्छ ।