पु.समाचार

पुस १५ सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ।

केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा काँग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो।
तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ ।

समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

साथै समितिले १३औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।

त्यस्तै समितिले २०७२ माघ २५ गते सम्पन्न सङ्खुवासभा जिल्ला अधिवेशनमा बराबरी मत प्राप्त गर्ने सभापतिका प्रत्यासीद्वय दीपनकुमार श्रेष्ठ र पासाङ शेर्पाको आगामी पुस १० गते गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गर्ने निर्णय गरेको छ । रासस