खेलकुद

नेपाललाई पहिलोपटक शारीरिक सुगठनतर्फ अन्तर्राष्ट्रिय पदक प्राप्त

काठमाण्डौ । ।नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेकी छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टीमिटर उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् ।

थाइल्यान्डको पटायास्थित समुद्र किनारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सल हलमा भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन् । ५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे । पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचैले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए ।

उद्घोषकले एलेसान्ड्रालाई पाँचौं र सुनलाई चौथो घोषणा गरेपछि ननिताको कम्तीमा कांस्य पदक निश्चित भएको खुशीयालीमा प्रतियोगिता आयोजनस्थल कन्भेन्सन हलमै रहेका ननिताका पति, बुवा, आमा, दिदी, भिनाजु, खेलाडी र अन्य नेपाली समर्थकले हुटिङ गरेका थिए ।

नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो । ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोश्रो नेपाली महिला खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् । निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।

कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीयाँ ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन् । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा ननिताले पहिलो पटक सहभागिता जनाउदै उपाधि जितेकी थिइन् ।

३ पुरुषसहति ४ नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहिन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथलेटिक्स र बास्केटबल खेलेको बताइन् । क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीय स्तरको एथलेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन् ।