विशेष

यस्तो छ भारतीय राजदूत रायको खतरनाक योजना, यसकारण नेपालीको निशानामा पर्न सक्छन् उनी !

काठमाण्डौ । नेपाल जब–जब राजनीतिक संकटमा फस्छ, त्यसबेला छिमेकीहरुको आँखा लाग्नु स्वभाविक हो, यो इतिहासले समेत पुष्टि गरिसकेको सत्य हो । यसबेला मुलुक अत्यन्तै महत्वपूर्ण राजनीतिक चरणमा रहेको छ । नयाँ संविधान कार्यान्वयन गर्ने चरणमा रहेको बेला एक्कासि अघि आएको संविधान संशोधनको प्रस्तावमा कुरा नमिल्दा फेरि मुलुकले एकपटक अर्को दुर्दशा भोग्नुपर्ने अवस्था सृजना भएको छ । यही बेला छिमेकी मुलुक विशेषगरी भारतले खुल्ला सक्रियता देखाएको छ ।

यसअघि नयाँ संविधानलाई समेत अस्वीकार गर्दै आएको भारतले अहिले संविधान कार्यान्वयन र संशोधनको मुद्धामा देखिएको द्धन्द्धमा खेल्ने रणनीति अख्तियार गर्नु स्वाभाविक भएपनि भारतीय राजदूतावासको प्रांगणमा खुल्ला बैठक गरेर उसले मधेसी दलका शीर्ष नेताहरुलाई सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न दबाब समेत दिएपछि यो कुराको पुष्टि भएको हो । शनिबार मधेसी दलका सातजना अध्यक्षहरुलाई दूतावासमै बोलाएर भारतीय राजदूत रञ्जित रायले उनीहरुलाई संशोधन प्रस्तावको पक्षमा जान दबाब दिएका हुन् । यद्यपि, सो लन्च मिटिङमा मधेसी नेताहरु उपेन्द्र यादव र शरदसिंह भण्डारी भने उपस्थित भएनन् । उनीहरु राजधानी बाहिरको कार्यक्रममा व्यस्त भएकोले उपस्थित हुन नसकेको बताइएको छ ।

वास्तवमा भारतीय राजदूत रायले यो के गर्न खोजेका हुन् ? के भारतले अब खुल्ला रुपमा नेपालको राजनीतिमा हस्तक्षेप गर्न सुरु गरेको हो ? भारतीय गुप्तचर संस्था ‘रअ’ को आडमा गोप्य ढंगले खेल्दै आएको भारत अहिले भने खुल्ला रुपमा रानीतिक दलका नेताहरुलाई ‘यसो गर र उसो गर’ भनेर दबाब दिन थालेको छ । राजदूत राय सरकारी तहमा उपसचिव सो सरहका व्यक्ति हुन् । उनले राजनीतिक दलका नेताहरुलाई राष्ट्रिय राजनीतिक मुद्धाको बहसमा ‘यसो गर्नु र उसो गर्नु’ भन्ने हैसियत कहाँबाट राखे ? आम सर्वसाधारणले जिज्ञासा र चासो राख्न थालेका छन् । यदि राजदूत रायले मधेसलाई आफ्नै भूमिको रुपमा मानेर, त्यहाँका नेताहरुलाई आफ्नै मुठिको लँगौटी मान्न खोजेका हुन भने नेपाली जनता सचेत हुन जरुरी छ, किनभने मधेसी नेताहरुले आफ्नो व्यक्तिगत चाहानाअनुसार भारतीय राजदूत र नेताहरुलाई भेट्न सक्छन् तर मुलुकको राष्ट्रियतासँग जोडिएका मुद्धाहरु बोेकेर उनीहरुसँग बहस र घाँटी जोड्ने अधिकार उनीहरुलाई छैन ।

यसबेला भारतीय राजदूतले लन्च मिटिङ भन्दै मधेसी नेताहरुलाई ब्रिफिङ गर्नु निकै रहस्यमय कुरा भएको जानकारहरु बताउँछन् । एउटा अपुष्ट खबर अनुसार केही महिनादेखि भारतीय गुप्तचर संस्थाका पूर्वप्रमुख आलोक जोशी काठमाण्डौमा सक्रिय रहेका छन् । उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सुक्ष्म अध्ययन गरिरहेको र पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावसहित सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्तावमा सहमत हुन उनले एमाले र मधेसी दलका नेताहरुलाई समेत दबाब दिइरहेको बताइएको छ । भारत यो योजनामा सफल भए मधेसलाई टुक्रया्उन सफल हुनेछ र उसको पहिलो मिसन सम्पन्न हुनसक्छ । त्यसपछिको उसको मिसन भनेको मधेसलाई भारतमा विलय गराउनु रहेको विश्लेषण समेत गरिन थालेको छ ।

शनिबार भारतीय दूतावासमा भएको बैठकमा भने मधेसी नेताहरुले आफ्नो पूरानै अडान दोहोर्याएको बुझिएको छ । उनीहरुले अहिले सरकारले ल्याएको संशोधनको प्रस्ताव परिमार्जन भएमात्र आफुहरुले त्यसमा सहमति जनाउने अडान भारतीय राजदूत रायसँग राखेका थिए तर राजदूत रायले भने जसरी हुन्छ सहमतिमा जान दबाब दिएको श्रोतले बताएको छ । त्यो बाहेक मधेसी नेताहरुसँग कस्तो गोप्य कुराकानी भयो, तयो विषय भने बाहिर आएको छैन ।

यो परिघटनाले पछिल्ला दिन काठमाण्डौमा फेरि भारत थप सक्रिय भएको संकेत मिल्छ । उता, भारतीय राजदूत रायले मधेसी दलहरुलाई दबाब दिनु र अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव फिर्ता नहुने बरु निर्वाचनको मिति घोषणा गरेर जाने बताउनुले पछिल्लो समयमा एमालेले सुरु गरेको सडक र सदन आन्दोलनलाई तुहाउने रणनीति सुरु भएको जानकारहरु बताउँछन् । भारतीय राजदूत रायको पछिल्लो रवैयाले उनी नेपालमा थप अलोकप्रिय बन्दै जाने संकेत समेत देखिएको छ । उनले यो रवैया जारी राख्दै गए कुनै दिन नेपाली जनताको निशानामा पर्नु रायका लागि कुनै नौलो कुरा नहुने जानकारहरु बताउँछन् ।

यसअघि पनि नेपालको राजनीतिमा उनको अनावश्यक सक्रियता देखिदा जनमासबाट देश निकाला गर्ने माग समेत उठेको थियो । केही वर्षअघिदेखि नेपालमा नाकाबन्दी लगायत प्रत्यक्ष हस्तक्षेप सुरु गरेपछि नेपालमा भारत विरोधी जनभावना ह्वात्तै बढेको छ, यो अवस्था देखेर भारतले पछिल्लो समय सम्बन्ध सुधारका प्रयासहरु पनि गरिरहेको देखिन्छ । राज्यको नेतृत्वस्तरमै यो प्रयास सुरु गरेपनि माइक्रो म्यानेजमेन्टमा भने भारत अहिले पनि भित्री रुपमा सक्रिय भैरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।