राजनीति

मुलुक संकटमा फस्न थालेको संकेत दिँदै राष्ट्रपति भण्डारीद्धारा बैठक आव्हान

काठमाण्डौ । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी भएको संविधान संशोधन प्रस्ताव दर्ताको गरेको विषयलाई लिएर मुलुक तातिरहेको बेला राष्ट्रपति विद्या भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

पछिल्लो समयमा संविधान संशोधनको विषयलाई लिएर दलहरुबीच टकराब बढ्दै गएपछि राष्ट्रपति भण्डारीले राजनीतिक निकास निकाल्ने उद्धेश्यका साथ सो बैठक आह्वान गरेको हुनसक्ने आंकलन गरिएको छ । राष्ट्रपतिले यसअघि पनि राजनीतिक दलका शीर्ष नेताहरुलाई बारम्बार संविधान संशोधन र कार्यान्वयनको विषयमा छलफल गर्दै आएकी थिइन् ।

उनले दलका शीर्ष नेताहरुलाई दलीय सहमतिबाटै यी विषयहरु टुँग्याउन आग्रह गर्दै आएकी छन् । आइतबार बोलाइएको दलीय बैठकमा पनि राष्ट्रपति भण्डारीले पछिल्लो समयमा देखिएका समस्यालाई दलीय सहमतिबाटै निकास निकाल्न आग्रह गर्ने जनाइएको छ ।

सरकारले केही दिनअघि पाँच नम्बर प्रदेशलाई टुक्र्याउने विषय समावेश गरेर संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि एमालेले त्यसको चर्को विरोध गरिरहेको छ भने मधेसवादी दलहरुले पनि आफुहरुको माग अनुसार प्रस्ताव परिमार्जन भएमात्र त्यसको समर्थन गर्न सकिने बताउँदै आएको छ । अहिले भने मधेसी दलहरुले समेत संशोधन प्रस्तावको विरोध गर्दै आइरहेका छन् ।

यसबेला एमाले र गठबन्धन सरकारमा सहभागी दलहरुकै केही नेताहरुको नेतृत्वमा पाँच नम्बर प्रदेशका रुपन्देही, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाहरुमा आन्दोलन सुरु भएको छ ।