राजनीति

आइतबारदेखि यसरी अघि बढ्दैछ बुटवलमा आन्दोलन

काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएको विरोधमा जारी आन्दोलनले शनिबार पनि बुटवल ठप्प भएको छ । बुटवलसहित अर्घाखाँची, रोल्पा, प्युठानलगायत जिल्लामा बन्दले जनजीवन प्रभावित भएको छ ।

बुटवलमा शनिबार पनि यातायातका साधन चलेनन् । बजार, शिक्षण संस्था बन्द भए । यातायात बन्दका कारण यात्रुहरू मर्कामा परेका छन् । बन्दले उद्योगमा पनि प्रभाव परेको छ ।

शनिबारको प्रदर्शनमा आन्दोलनकारी राष्ट्रिय झन्डा लिएर सडकमा उत्रिएका थिए । सडकमै राष्ट्रिय गीत बजाएर नाचगान गरेका थिए । बुटवलमा अखण्ड ५ नम्बर प्रदेश बचाउ दबाब अभियान लुम्बिनीले शुक्रबार साँझ स्थगित गरेको अनिश्चितकालीन बन्दको कार्यक्रमलाई शनिबार बिहान ६ बजेबाट यथावत् राखेको थियो ।

दबाब अभियान संयोजक विष्णु पोखरेलले शनिबार साँझदेखि भने अनिश्चितकालीन बन्द स्थगित गरेको बताएका छन् । उनले आइतबार बैठक बसेर आन्दोलनका नयाँ कार्यक्रम तय गरिने समेत बताए । एमाले नेता खिमलाल भट्टराईले आन्दोलन जारी रहने भन्दै अझ व्यवस्थित र निर्णायक बनाउन संयुक्त संघर्ष समितिले छलफल गरिरहेको बताए ।

यता, अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले भने बन्दको कार्यक्रम यथावत् रहेको बताएका छन् । अनिश्चितकालीन बन्द यथावत् राखेको भन्दै उनले आन्दोलनका क्रममा शनिबार संयुक्त विद्यार्थी संगठनको बैठक पनि भएको र आन्दोलनलाई एकसाथ सशक्त पार्दै अगाडि बढाउने निर्णय भएको उनले बताए । एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीले पनि आइतबारबाट बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बन्दको कार्यक्रम तय गरिएको बताए ।

बुटवलमा शुक्रबार प्रदेशस्तरको विशाल प्रदर्शन गरिएको थियो । सो अवसरमा नेताहरूले संयुक्त विरोध प्रदर्शनलाई निरन्तरता दिइने बताएका थिए । आइतबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।