पु.समाचार

सुनको संकेत देखिएपछि मेलम्चीको हेडवक्र्स साइटमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । हेलम्बुस्थित मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा भेटिएको पहेंलो पदार्थ आउने पहाडको भाग खानी हुने आशंकामा शनिबारदेखि सुरक्षामा कडाइ गरिएको छ ।

गेटपारिका स्थानीयहरुलाई बाहेक सबैलाई आउन जान पुरै रोक लगाइएको छ । पहेंलो पदार्थ भएको ढुंगा सुन या खनिज हुनेसक्ने आशंकामा सुरक्षाकर्मीद्वारा बाहिरी गेटबाट समेत आवात जावत गर्न गेटपारिका स्थानीय बाहेक अरुलाई निषेध गरिएको छ ।

‘गेट पारि बस्नेले मात्रै उता जान पाउँछन् अरु सबैलाई आउन जान निषेध छ,’ हेलम्बुका स्थानीय ग्याल्देन शेर्पाले भने, ‘प्रत्येक चोटी हामीले आउजाउ गर्न अनुमति लिनपरेको छ ।’

उनले आफ्नै घर जानपनि अनुमति लिएर जानुपर्ने अवस्था भएको जानकारी दिए । उनी मात्र होइन हेलम्बु ७, ८, ९ का सबै स्थानीयहरु अहिले बाहिरी गेटमा बसेका सेनासँग अनुमति लिएर मात्रै पार गर्न पाउँछन । आउँदा छुट्टै अनुमति लिनुपर्ने प्रावधान गरिएको छ ।

निर्माणको काम नै रोकेर ल्याब टेष्टको लागि लगिएको उक्त पहेंलो पदार्थ के हो भन्ने तथ्य अहिलेसम्म पत्ता लागिसकेको छैन । हाल भने उक्त स्थानको केही भाग बाहेक सबै कार्य सुचारु गरिएको मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराइले जानकारी दिएका छन् ।

‘चम्कीलो पहेंलो कण देखिएकाले सुनको आशंका गरिएको हो । आहिले यकिन भन्न सकिने अवस्था छैन,’ प्रमुख भट्टराइले भने, ‘भूर्गभविदले सुन हुन नसक्ने क्षेत्रको रुपमा दाबी गरेपनि उक्त पदार्थ के हो भन्ने यकिन नभएकाले संरक्षणमा लागेका हौं । यो के हो खानी विभागले आइतबार टेष्टपछि निक्र्योल निकाल्ने छ ।’

उनले मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा ड्यामको वर्कस्पट बनाउने कामका साथै खानी वरीपरी सुरक्षाको लागि वायरसेभ, काँडेतार लगाइसकेको जानकारी दिए । उनका अनुसार मेलम्ची खानेपानीको मुख्य ड्याम निर्माणको काम धमाधम भइरहेको र सुन खनिजको अनुमानमा सुरक्षामा कडाइ गरिएको छ । आइतबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।