समाचार

डा.केसीको माग पुरा गर्दै शिक्षण अस्पतालका डिन सिंहद्वारा राजिनामा

सुर्यखबर सम्बाददाता, काठमाडौं । प्रा. डा. गोबिन्द केसीले आमरण अनशन बसेर स्वास्थ्य नाजुक भएको र देशभरका डाक्टरहरुले केसीलाई समर्थ गर्दै अस्पतालका कामहरु ठप्प पार्ने चेतावनी दिए पश्चात चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन केपी सिंहले शुक्रबार त्रिभूवन बिश्वबिद्यालयका उपकुलपति तीर्थ खानियाँ समक्ष राजीनामा बुझाएका छन् ।

तीन हप्ता अघिमात्र डीन नियुक्ती भएका सिंह कनिष्ठ भएको भन्दै डा. केसी आमरण अनशनमा हुनुहुन्थ्यो । डा. केसीले बरिष्ठलाई डिन नियुक्त गर्नुपर्छ भनेर पटक पटक माग गरेपनि उक्त माग संस्थागत हुन सकेको थिएन ।

डिन सिंहलाई बर्खास्त गर्दा उनको मान हानी हुने भयले उनको सरकारद्वारा राजिनामा मागिएको स्रोतको दाबी छ ।

संचारकर्मी, डाक्टर, प्राध्यापक, मानबअधिकारकर्मी, नागरीक समाजका अगुवाहरुले डा. केसीको जायज माग पुरा गरेर उनको ज्यान जोगाउन सरकारसंग माग गरिरहेका थिए ।

सिँहको राजिनामा पश्चात डा.केसीले अनशन तोड्ने अनुमान लगाईएको छ, यद्यपी हालसम्म कुनै प्रतिकृया आएको छैन ।